मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हुम्ला सदरमुकाम यस वर्ष पनि राष्ट्रिय सडक सञ्जालमा नजोडिने

nayapatrikadaily.com · Thu Jan 05 00:30:00 GMT 2023

चालू आर्थिक वर्ष ०७९/८० मा हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारको लक्ष्य पूरा नहुने भएको छ । सरकारले गत १० जेठमा नीति तथा कार्यक्रम जारी गर्दै चालू आवमै सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने बताएको थियो । तर, आयोजनाको पछिल्लो प्रतिवेदनले चालू आवमा हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडकले नछुने पुष्टि गरेको छ ।

सिमकोटमा सडक पुग्न हुम्लाकै लालीबगर–दुल्लीकुन्नाखण्डको ट्र्याक खुल्नुपर्छ । ११ किलोमिटर (किमि) लम्बाइ हुने उक्त खण्डमा कडा चट्टान भएका कारण नेपाली सेनाले ब्लास्टिङ गरेर ट्र्याक निर्माण गरिरहेको छ । सडक विभागसँग विस्फोटक पदार्थहरू नहुने भएपछि ५ असोज ०७८ मा मन्त्रिपरिषद्ले उक्त सडकको ट्र्याक खुलाउन नेपाली सेनालाई जिम्मा दिएको थियो । त्यसपछि सेनाले ८ पुस ०७८ बाट निर्माण कार्य सुरु गरेको हो । तर, सरकारको लक्ष्यअनुसार चालू आवमै उक्त खण्डको ट्र्याक नखुल्ने नेपाली सेनाबाट प्राप्त एक प्रतिवेदनले देखाएको हो । प्रतिवेदनअनुसार आगामी आव ०८०/८१ मा मात्रै उक्त खण्डको ट्र्याक खुल्ने देखिएको छ । त्यसपछि मात्रै हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)