मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाका धनुषा सभापति लक्ष्मेश्वर यादव निलम्बित

shilapatra.com · Tue Jun 09 09:57:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषा जिल्ला कार्यसमितिका सभापति लक्ष्मेश्वर यादवलाई पदबाट निलम्बन गरेको छ ।

पार्टीको केन्द्रीय अनुशासन आयोगले मंगलबार जारी गरेको पत्रमार्फत यादवलाई थप अनुसन्धान प्रक्रिया पूरा नहुँदासम्म जिल्ला सभापतिको जिम्मेवारीबाट मुक्त गरिएको जनाएको हो ।

आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालद्वारा हस्ताक्षरित पत्रमा यादवमाथि पार्टीको विधान, आचारसंहिता तथा मूल्यमान्यताविपरीत गतिविधि गरेको, पदीय जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको, क्षेत्राधिकार मिचेको, अनावश्यक हस्तक्षेप गरेको तथा समूहगत राजनीतिलाई प्रोत्साहन दिएको लगायतका आरोपबारे विभिन्न समयमा उजुरी प्राप्त भएको उल्लेख छ ।

उजुरीका आधारमा आयोगले यसअघि यादवसँग स्पष्टीकरण मागेको थियो । प्राप्त स्पष्टीकरण अध्ययनपछि थप अनुसन्धान र प्रमाण संकलन आवश्यक देखिएकाले अन्तरकालीन आदेश जारी गर्दै उनलाई पदबाट निलम्बन गरिएको आयोगले जनाएको छ ।

आयोगले अर्को निर्णय वा सूचना जारी नहुँदासम्म यादवलाई जिल्ला सभापतिको हैसियतमा कुनै पनि कामकाज गर्न, पार्टीका बैठक तथा गतिविधिमा सहभागी हुन तथा संगठनात्मक जिम्मेवारी निर्वाह गर्न रोक लगाएको छ ।

उक्त निर्णयबारे पार्टीको केन्द्रीय कार्यसमिति, केन्द्रीय संगठन विभाग, मधेश प्रदेश कार्यसमिति, प्रदेश अनुशासन आयोग तथा जिल्ला अनुशासन आयोग धनुषालाईसमेत जानकारी गराइएको छ । यादवलाई सभापति पदबाट हटाएको विरोधमा उनका समर्थनहरुले जिल्ला अधिवेशन स्थलमा नारावाजी गरेपछि अधिवेशन स्थगित गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३

१५:४२

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)