श्रीमतीको उजुरीपछि डा. पंकज चौधरी पक्राउ
ekantipur.com · Wed Dec 14 17:00:17 GMT 2022
महोत्तरी — दाइजो लिएर विवाह गरेको र श्रीमतीमाथि कुटपिट गरेको आरोपमा महोत्तरी रामगोपालपुर-५ का डा पंकज चौधरी पक्राउ परेका छन् । श्रीमती नेहा चौधरीले दिएको दाइजो तथा घरेलु हिंसाको उजुरीपछि उनी पक्राउ परेका महोत्तरी प्रहरीले जनाएको छ ।
नेहाले दाइजो बढी लिएर विवाह गरेको र आफूमाथि घरेलु हिंसा (कुटपिट) भएको भनी दिएको उजुरीका आधारमा बुधबार पंकजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख (एसपी) कृष्ण पंगेनीले जानकारी दिए । एक हप्ता पहिले नेहाले जिल्ला अदालत महोत्तरीमा पंकजविरुद्ध दुईवटा मुद्दा चलाएकी थिइन् । घरेलु हिंसाको उजुरीमा जिल्ला अदालतले गत मंसिर २६ गते नै नेहालाई संरक्षणात्मक आदेश जारी गरिसकेको छ । नेहाको घाउ खत र घटना अनुसन्धान गर्दा नेहाको संरक्षण आवश्यक ठहर गर्दै अदालतले गाली, बेइज्जती, अपशब्द प्रयोग नगरी मानसिक र शारीरिक यातना हुने कुनै कार्य नगरी घरमा संरक्षणसहित राख्न पंकजको परिवारलाई आदेश दिएको छ । पंकजविरुद्ध परेको दाइजोको मुद्दा अझै अदालतमा रहेकाले पक्राउ परेका पंकजलाई एक हप्ताको म्याद थप गरी जिल्ला अदालत महोत्तरीले थुनामा राख्न आदेश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)