मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सीमा विवाद समाधान कूटनीतिक माध्यमबाट : प्रधानसेनापति

ekantipur.com · Fri Jul 08 01:06:24 GMT 2022

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्माले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । उनले सीमा सुरक्षा र व्यवस्थापनमा सीमा क्षेत्रका नागरिकलाई पनि साथमा लिएर अघि बढ्नुपर्ने धारणा राखेका छन् । ‘सेनाले सीमाको विषयलाई नजिकबाट नियालिरहेको छ,’ जंगी अड्डाले आयोजना गरेको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसम्बन्धी गोष्ठी समापनका क्रममा प्रधानसेनापति शर्माले भने ।

प्रधानसेनापति शर्माले आकाशको सीमालाई पनि उत्तिकै संवेदनशीलताका साथ रेखदेख गर्नुपर्ने अवस्था आएको बताएका छन् । चारवटै सुरक्षा निकायले सीमा सुरक्षाप्रति चनाखो हुनुपर्नेमा उनको जोड छ । उनले सीमा क्षेत्रमा क्रियाशील निकायहरुबीच स्पष्ट जिम्मेवारी तोक्न आवश्यक रहेको पनि औंल्याए । यसअघि २०७७ माघमा राष्ट्रिय सुरक्षा परिषद् सचिवालयले आयोजना गरेको ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु’ विषयक गोष्ठीमा सेनाले अन्तर्राष्ट्रिय खुला सिमाना व्यवस्थित गर्न नसके आतंकवादी तथा अपराधीबाट चुनौती हुने भन्दै सीमाको वैज्ञानिक व्यवस्थापनमा जोड दिएको थियो । त्यसको साढे दुई वर्षपछि पुन: सेनाले सीमाबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)