मन्त्रिपरिषद् बैठकमा डीडीसीको उत्पादन प्रवर्धनको एजेन्डामा छलफल
baahrakhari.com · Tue Jun 09 10:41:51 GMT 2026

काठमाडौं । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्धन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको देशव्यापी प्रवर्धन तथा बजार विस्तार गर्ने विषयमा छलफल भएको छ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मन्त्रिपरिषद् बैठकमा डीडीसीको उत्पादन प्रवर्धनको एजेन्डा उठाएकी हुन् । बैठकमा मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनको संरक्षण, किसानको हित प्रवर्धन तथा संस्थानको व्यावसायिक सुदृढीकरणका लागि डीडीसीका उत्पादनहरूको प्रयोग र प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिइन् ।
उनले डीडीसीलाई थप प्रतिस्पर्धी, गुणस्तरीय र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारका विभिन्न निकायबीच आपसी समन्वय आवश्यक रहेको उल्लेख गरिन् । साथै, नेपाली दुग्ध किसानबाट संकलित दूधको उचित व्यवस्थापन र उत्पादनको बजार सुनिश्चित गर्न सरकारी तहबाट आवश्यक सहयोग हुनुपर्ने उनको भनाइ छ ।
त्यसक्रममा उनले प्रधानमन्त्री वालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीका उत्पादनहरूको प्याकेज वितरण गरेकी थिइन् ।
प्रधानमन्त्री शाहले पनि डीडीसीका उत्पादनहरूको प्रवर्धन र प्रचार गरेका थिए ।
#मन्त्रिपरिषद् बैठक
#दुग्ध विकास संस्थान
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ