दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने
khabarhub.com · Sun Oct 18 13:45:54 GMT 2026

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले कात्तिक २ देखि ५ गतेसम्म चार दिन आकस्मिक कक्षबाट सबै प्रकारका सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । अस्पतालका निर्देशक प्रा डा गोपेन्द्र देवले बडादसैँको विशेष दिनका रुपमा लिइने अष्टमीदेखि एकादशीसम्मका चार दिन पनि बिरामीले सेवा पाउन सकुन् भनी सेवा सञ्चालन गर्न लागेको जानकारी दिए ।
उहाँका अनुसार उक्त अवधिमा रेडियोलोजी, प्रयोगशाला तथा अन्तरङ्ग सेवा पनि नियमित सञ्चालन हुनेछन् । डा देवले भने, “दसैँका समयमा पनि चितवन मेडिकल कलेजले आफ्नो सेवालाई निरन्तरता दिनेछ । हामी सकेसम्म सबै स्वस्थ रहनुहोस् भन्ने चाहन्छौँ । तर बिरामी हुनुभयो वा कुनै स्वास्थ्य समस्या देखियो भने अस्पताल आउनुहोला, सेवा दिन तयार छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)