पाँचौ पटक विश्वकप खेल्ने कीर्तिमान नजिक युटो नागोटोमो
newsofnepal.com · Sat May 16 16:46:38 GMT 2026
फुटबल केवल छालाको गोलाकार वस्तु र मैदानका हरिया दुबोहरूको प्राविधिक लेखाजोखा मात्र होइन, यो त मानिसको रगत, पसिना र भावनाको यस्तो महासागर हो जहाँ समर्पणका छालहरू कहिल्यै शान्त हुँदैनन् । जब ३९ वर्षको छिपिदैं गएको उमेरमा जापानी डिफेन्डर युटो नागोटोमोले आफ्नो जीवनको पाँचौँ विश्वकपका लागि राष्ट्रिय टोलीमा आधिकारिक रूपमा नाम सुरक्षित भएको खबर सुने, तब उनको आँखाबाट भावना मिश्रित आँसु बग्न थाले । ती आँसुहरूमा केवल हर्ष मात्र थिएन, त्यसमा दुई दशक लामो कठोर संघर्ष, उमेरको सीमालाई चुनौती दिने अदम्य साहस र आफ्नो मातृभूमिप्रतिको अगाध प्रेम लुकेको थियो । टेलिभिजनको पर्दामा आफ्नो नाम सुनेर भावुक हुँदै रोएको नागोटोमोको त्यो क्षणले विश्वभरका करोडौँ खेलप्रेमीहरूको मनलाई जुरुक्क हल्लाइदियो । अनि प्रमाणित गरिदियो कि जब सपनाहरू सपना मात्र नभएर जीवन जिउने आधार बन्छन्, तब उमेर एउटा फगत संख्या मात्र साबित हुन पुग्छ ।
यो एउटा यस्तो दुर्लभ र ऐतिहासिक कीर्तिमानको घडी हो, जसले एसियाली फुटबलकै इतिहासमा स्वर्ण अक्षरले लेखिने नयाँ पाना थपिदिएको छ । सन् २०१०, २०१४, २०१८ र २०२२ का विश्वकप संस्करणहरूमा सामुराई ब्लूको जर्सी लगाएर मैदानमा प्रतिरोधी पर्खाल बनेका नागोटोमो अब पाँच पटक विश्वकपको संस्करण खेल्ने एसियाकै पहिलो खेलाडी बन्दैछन् । तर, यो गौरवशाली उचाइसम्म पुग्ने उनको यात्रा कुनै सुगन्धित फूलको ओछ्यान थिएन । सुरुआती दिनहरूमा नागोटोमोलाई कुनै पनि व्यावसायिक क्लब वा विद्यालयको मुख्य टोलीले पत्याएका थिएनन् । उनलाई प्रतिभाहीन ठानेर किनारा लगाइएका थिए । तर, संसारले नपत्याए पनि आफैँले आफैँलाई प्रमाणित गरेर देखाउने उनले आफ्नो हृदयमा एउटा बलियो अठोट पालेका थिए । मिजी विश्वविद्यालयको मैदानमा खुट्टामा चोट लाग्दा र मनमा निराशा छाउँदा पनि उनले पसिना बगाउन छोडेनन् । जसले उनको प्रतिभालाई निखा¥यो र अन्ततः एफसी टोकियोको माध्यमबाट उनको व्यावसायिक फुटबल यात्राको उदय भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)