सन्चो नभएपछि दाङ नगई काठमाडौं फर्किए बालेन
makalukhabar.com · Fri Feb 20 02:33:27 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि सुर्खेतबाट उनी बिहीबार साँझ जहाजमार्फत काठमाडौं फर्किएका हुन् ।
रास्वपाका एक नेताका अनुसार सुर्खेतमा रहँदा बालेनको स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई के भएको हो भन्नेबारे स्पष्ट नखुलाइए पनि थप उपचार र आरामका लागि काठमाडौं पठाइएको ती नेताले बताए । ‘उनको स्वास्थ्यमा केही समस्या देखिएपछि काठमाडौं फर्किएका हुन्,’ उनले भने, ‘अस्वस्थताका कारण शुक्रबार दाङमा तय भएको कार्यक्रममा उनी सहभागी हुने-नहुने निश्चित छैन । यद्यपि , स्वास्थ्यमा सुधार आएमा भैरहवाको कार्यक्रममा भने उनी अवश्य आउनेछन् ।’
रास्वपाले आज (शुक्रबार) दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय निर्वाचन लक्षित विशेष कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्न पार्टी सभापति रवि लामिछानेसँगै बालेन पनि दाङ पुग्ने कार्यतालिका थियो । बालेन पहिलोपटक दाङ आउने खबरले स्थानीय र समर्थकहरूमा निकै उत्साह देखिएको थियो । उनलाई स्वागत गर्न ठाउँ-ठाउँमा समर्थकहरूको भिड लागेको थियो ।
यसअघि बिहीबार रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट आफ्नो १०० बुँदे ‘वाचापत्र’ सार्वजनिक गरेको थियो । उक्त कार्यक्रममा वरिष्ठ नेता बालेनको समेत उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)