आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू,
barnanmedia.com · Sun Oct 18 23:11:04 GMT 2026

तपाईं-हाम्रो घरआँगनमा नेपालीहरूको महान् चाड बडादसैँले प्रवेश गरिसकेको छ। सर्वप्रथम, म यस पावन उत्सवको अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
नेपाली समाजमा सदियौँदेखि दसैँको विशेष महत्त्व रहिआएको छ। धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण चाडका रूपमा रहेको दसैँ एकता, आत्मीयता र भलाकुसारीको सङ्गमका रूपमा नेपालीमाझ स्थापित रहेको छ। बडाको हातबाट टीका र जमरा ग्रहण गरेर आशीर्वाद थाप्ने परम्परा सानालाई माया र ठूलालाई आदर गर्ने हाम्रो मौलिक परम्पराको प्रतिबिम्बसमेत हो। देशभित्रका विभिन्न स्थानहरूबाट मात्र होइन, देशबाहिरबाट समेत आफ्नो घरआँगनमा फर्कने, आफ्ना परिवार र आत्मीयजनहरूसँग भलाकुसारी गर्ने, खानपान गर्ने र रमाइलो गर्ने अवसरका रूपमा दसैँ युगौँदेखि परिचित छ। मानौँ, दसैँको माहोलको आकाश नै अलग हुन्छ, धर्तीको सुगन्ध छुट्टै हुन्छ अनि वातावरण त्यसै-त्यसै उल्लासमय र उमङ्गले भरिपूर्ण हुन्छ। यस अवसरमा सबैभन्दा लामो सार्वजनिक बिदा छुट्याइने भएकाले पनि होला, दसैँ निस्फिक्री रमाउने चाडका रूपमा रहँदै आएको छ। स-साना बाबुनानीहरूका लागि त झनै विद्यालय बिदा भएपछि खाने, खेल्ने र नयाँ-नयाँ लुगा लगाएर मामाघर जानेजस्ता फुरुङ्ग पार्ने गतिविधिले अर्कै उत्साह ल्याउने गर्दछ र त्यसले पनि वातावरणलाई थप पुलकित पार्ने गर्दछ। आर्थिक गतिविधिका हिसाबले समेत बडादसैँ नेपालीहरूमाझ सबैभन्दा चलायमान पर्वका रूपमा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)