पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले दैनिक उडान सञ्चालन गर्ने
shilapatra.com · Tue Jun 09 12:53:00 GMT 2026

फ्लाई दुबई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि अनुमति पाएको छ ।
उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण सम्पन्न भएपछि फ्लाई दुबईले आगामी २३ सेप्टेम्बरदेखि दैनिक उडान सञ्चालनका लागि अनुमति पाएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए ।
मेयर आचार्यले फ्लाई दुबईको नियमित उडानपछि दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापना हुने र मध्यपूर्व, युरोप, अफ्रिकालगायत विश्वका ३०० भन्दा बढी शहरहरूसँग पोखराको पहुँच विस्तार हुने सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
मेयर आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय उडानको केन्द्र बनाउन लामो समयदेखि विभिन्न निकायसँग समन्वय र पहल हुँदै आएको उल्लेख गरेका छन् । उनले यो उपलब्धिमा योगदान पुर्याउने नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटनमन्त्री गणेश पौडेल, युनिभर्सल ट्राभल्सका अध्यक्ष पराशर प्रसाई तथा सम्पूर्ण सम्बन्धित पक्षप्रति आभार व्यक्त गरेका छन् ।
उनले प्रारम्भिक चरणमा उडानलाई सफल बनाउन पर्यटन व्यवसायी, पोखरेली नागरिक तथा स्वदेश–विदेशमा रहेका नेपाली समुदायलाई पोखरा–दुबई रुट प्रयोग गर्न आग्रह गरेका छन् । नियमित यात्रु सहभागिताले यो सेवा दीर्घकालीन रूपमा सञ्चालन हुन सहयोग पुग्ने उनको विश्वास छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३
१८:३८
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)