मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरतपुरका बागीलाई देउवा र दाहालको दबाब

ekantipur.com · Thu Apr 28 00:58:44 GMT 2022

चितवन — सत्ता गठबन्धनको तालमेलको केन्द्रबिन्दु भरतपुर महानगरपालिकाका कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन ठूलो दबाब परेको छ । नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका चितवन कांग्रेसका पुराना नेता पौडेललाई उम्मेदवारी फिर्ता लिन कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल मात्रै होइन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमेतले फोन गरेर दबाब दिएका छन् ।

गठबन्धनका शीर्ष नेताको दबाब नमानेपछि देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई दूत बनाएर भरतपुर पठाए । जिल्ला तहका नेताले भेटेर कुरा गर्दा नमानेका पौडेललाई पार्टी सभापति देउवाले काठमाडौं बोलाएका थिए । ‘सभापतिज्यूले बोलाउनुभएको थियो तर म आउन नसक्ने जानकारी उहाँलाई दिएँ,’ पौडेलले भने । माओवादी अध्यक्ष दाहाल मंगलबार बिहान केही समयका लागि भरतपुर आएका थिए । पौडेललाई नभेटी काठमाडौं फर्केका उनले बुधबार टेलिफोनमा कुरा गरे । ‘म छोटो समयका लागि आएको हुँदा भेट्न सकिनँ, त्यसैले आज फोन गरेको हुँ, उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई सहयोग गर्नुस् भन्नुभयो,’ पौडेलले दाहालसँगको वार्ताबारे बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)