केशलिया खोला कोरिडोर निर्माणका लागि १४ अर्ब
abhiyandaily.com
विराटनगर । विराटनगर महानगर पालिकाको पश्चिमी सीमामा रहेको केशलिया खोलामा कोरिडोर निर्माण र सौन्दर्यकरणका लागि संघीय र प्रदेश सरकारले १४ अर्ब रुपैयाँको बजेट विनियोजन गरेका छन् । अब खोलामा सौन्दर्यकरणसहित कोरिडोर निर्माण शुरू हुने भएको छ । सोमवार विराटनगरमा यससम्बन्धी छलफल तथा अभिमुखीकरण कार्यक्रममा कोरिडोर निर्माणका लागि विज्ञहरूले प्रस्तुति दिए । खोला क्षेत्रमा गरिएको अनुसन्धानबाट कोरिडोर निर्माण गर्दा हुने फाइदा र चुनौतीका बारेमा अवगत गराइएको छ । विज्ञहरू डा. महेन्द्र सुब्बा, प्रशान्त मल्ल र जेनी श्रेष्ठले दिगो विकासको अवधारणा अन्तर्गत आयोजना सञ्चालन गर्न सकिने बताएका छन् ।
कोरिडोर निर्माणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदनमा खोला नियन्त्रणसँगै बस्ती विकास, शहरी वन विकास र कृषिक्षेत्रको आधुनिकीकरणको सम्भावनाबारे औंल्याइएको छ । विभिन्न पालिकालाई जोडेर संघीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा परियोजना अघि बढाउन सकिने बताइएको छ । केशलिया नदीमा दाँयाबाँया बाँध बाँधेर कोरिडोरको रूपमा विकास गर्न सके त्यसले विराटनगरसहित दुहबी, बुढीगंगा र विराटनगरमा बाढी नियन्त्रणका साथै विविध वातावरणीय फाइदासमेत पुग्ने विज्ञहरूले बताएका छन् । केशलिया कोरिडोरअन्तर्गत २० देखि १०० वर्षसम्मको बाढी नियन्त्रणको योजना बनाइएको मल्लले जानकारी दिए । यस क्रममा शहरका भित्री सडक निर्माण, स्तरोन्नतिदेखि पुलपुलेसा तथा कल्भर्ट निर्माणका कामसमेत समेटिएका छन् । नयाँ बस्ती निर्माणदेखि शहरी वनको विकास समेत यसमा समावेश भएको मल्लले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)