निजी क्षेत्रमा बैंकहरूको लगानी घट्यो ५६ अर्ब
onlinekhabar.com · Tue Jun 09 13:10:21 GMT 2026

२६ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष वैशाखसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा १.६ प्रतिशत बिन्दुले कमी आएको छ ।
अर्थतन्त्रमा आएको सुस्तताका कारण समग्र मागमा आएको कमीको असर वित्तीय क्षेत्रको कर्जा प्रवाहमा देखिएको हो ।
चालु आव १० महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा प्रवाह ७.३ प्रतिशतले बढेको थियो ।
चालु आव वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा कुल ३ खर्ब १२ अर्ब कर्जा लगानी गरेका छन । गत आव सोही अवधिमा यस्तो कर्जा लगानी ३ खर्ब ६८ अर्ब रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
२०८३ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जा अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जा अंश ३७.३ प्रतिशत छ । गत आव सोही अवधिमा यस्तो अंश क्रमश: ६३.१ र ३६.९ प्रतिशत थियो ।
चालु आव वैशाखसम्म निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ५.८ प्रतिशत, विकास बैंक ५ र वित्त कम्पनीको २.९ प्रतिशतले बढेको छ ।
२०८३ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति सुरक्षणमा १४.९ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६३.५ प्रतिशत छ । २०८२ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमश: १४.६ र ६५.१ प्रतिशत थियो ।
आव २०८२/८३ को १० महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा १२.८ प्रतिशत, उपभोग्य क्षेत्र १२.३, यातायात, सञ्चार तथा सार्वजनिक सेवा १०.९, औद्योगिक उत्पादन क्षेत्र ६.८, सेवा उद्योग क्षेत्र ३.३ र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा १.० प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले घटेको छ ।
चालु आव वैशाखसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट (आयात) कर्जा ३६.१ प्रतिशत, मार्जिन प्रकृति १५.५, हायर पर्चेज ९.१, रियल इस्टेट (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.३, माग तथा अन्य चालु पूँजी कर्जा ४.३, आवधिक कर्जा ४ र क्यास क्रेडिट कर्जा ०.४ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ०.७ प्रतिशतले घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
विश्वनाथ पौडेल