बालेन परे बिरामी, सुर्खेतमा उपचार गराएर आए काठमाडौं
clickmandu.com · Fri Feb 20 10:40:33 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा बिरामी परेपछि उपचारका लागि काठमाडौं फर्किएका छन् ।
सुदूरपश्चिमको धनगढीमा आयोजित सभा सकेर सुर्खेत पुगेका शाहको स्वास्थ्यमा समस्या देखिएको हो ।
बुधबार रातिदेखि नै पेट दुख्ने, कमजोरी हुने र वान्ता हुने समस्या देखिएपछि उनलाई सुर्खेतस्थित एक अस्पताल भर्ना गरिएको थियो । राति ३ बजे अस्पताल पुगेका उनले बिहान ६ बजेसम्म उपचार गराएका थिए । उनलाई खानपानमा असन्तुलन र यात्राका कारण कमजोरी देखिएको हो ।
बिहीबार सुर्खेतमा आयोजित पार्टीको ‘वाचापत्र’ सार्वजनिक कार्यक्रममा सहभागी भई करिब ३ मिनेट सम्बोधन गरेलगत्तै उनी काठमाडौं फर्किएका हुन् ।
बालेन निकट स्रोतका अनुसार उनलाई मौसम परिवर्तनले स्वास्थ्यमा समस्या देखिएको छ ।
‘उहाँलाई त्यस्तो जटिल समस्या केही भएको होइन,’ स्रोतले भन्यो, ‘रुघा खोकीसहितको मौसम परिवर्तनको समस्या देखिएको छ । चुनाव प्रचारका लागि विभिन्न ठाउँमा पुग्दा पानी जुध्ने, खानपान नमिल्ने लगायतले भएको हुन सक्छ ।’
शाह बिरामी परेपछि रास्वपाको दाङ भ्रमणमा शुक्रबार सभापति रवि लामिछाने मात्र सहभागी भए। नेता शाहको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै रास्वपाले शनिबार र आइतबारका लागि तय गरिएका भैरहवा र पोखराका चुनावी सभाहरू पनि स्थगित गरेको छ । उनको स्वास्थ्यमा सुधार आएपछि नयाँ कार्यतालिका सार्वजनिक गरिने सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)