देश र जनताका हितमा कार्य गर
rajdhanidaily.com · Tue Dec 07 23:14:32 GMT 2021
नेपालका राजनीतिक नेता अहिले आआफ्नो पार्टीको आन्तरिक गृहकार्यमा जुटेका छन् । पार्टी आआफ्ना भए पनि उनीहरूले गर्ने गृहकार्यले नेपालको समकालीन राजनीतिलाई प्रभाव पार्ने देखिएको छ । यस्ता गृहकार्य आफैंमा राजनीतिक गृहकार्य नै हुन् । यी गृहकार्य समकालीन राजनीतिक यथार्थतामा कसरी अगाडि बढ्ने भन्नेमा केन्द्रित हुने देखिएको छ । संयोग भनौं वा राजनीतिक घटनाक्रम, नेपालका ठूला राजनीतिक पार्टीले मंसिर र पुस महिनालाई आफ्ना विचार र संगठन नवीकरणको महिना बनाउने गरेका छन् । आफ्नो १०औं महाधिवेशन सिध्याएर आगामी २५ र २६ मंसिरमा काठमाडौंमा बस्दै गरेको पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठकका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले गम्भीर गृहकार्यमा जुटेका छन् । मुख्य एजेन्डा नेताका जिम्मेवारी बाँडफाँडमा केन्द्रित रहने भनिए पनि सही मानिसलाई सही ठाउँमा चयन गर्न सकिने वा नसकिने भन्ने प्रश्न यसमा अहं बनेर आएको छ । कार्य विभाजन आफंैमा सामान्य कार्य होइन, यो पार्टीको मात्र होइन, सिंगो देशको रणनीतिक कार्यक्रमसँग जोडिन आइपुगेको हुन्छ । त्यसमा पनि राज्य सत्ताका लागि प्रमुख प्रतिपक्षी दलको सोच र कार्य विभाजनले ल्याउने असर दीर्घकालीन प्रकृतिको हुन्छ ।
यसका साथै देशको सत्तासीन ठूलो दल नेपाली कांग्रेस पनि राष्ट्रिय महाधिवेशनमा जुटेको छ । महाधिवेशन स्थलमा प्रवेश गर्नुका दुई दिनअगाडि देशका प्रधानमन्त्री तथा कांग्रेसका सभापति पनि राजनीतिक गृहकार्यमा लागेका छन् । सरकार प्रमुख पनि भएका र पार्टीको प्रमुख जिम्मेवारीमा रही सोही पदमा उम्मेदवारी पनि दिएका हुनाले उनी कामको राप र तापमा गृहकार्य गरिरहेका छन् । तर, पनि उनलाई आफ्नो पार्टी प्यानलको लिस्ट बनाउन हम्मेहम्मे परिरहेको छ । पुराना पुस्ताका नेताबीच बढी रस्साकस्सी भएकाले पनि उनी प्यानलमा कठिन गृहकार्य गरिरहेका देखिन्छन् । देउवालाई टाउको छोडेर शरीरका अन्य भाग मिलाउन जतिको मुस्किल परिरहेको छ, त्योभन्दा बढी देउवा इतरका समूहलाई शरीरका अन्य अंग मिलानभन्दा पनि टाउको मिलाउन धौ परिरहेको कांग्रेसी वृत्तमा चर्चा चलिरहेको छ । राष्ट्रिय महाधिवेशन आफंैमा नेपाली कांग्रेसका लागि निकै अप्ठ्यारो साबित भइरहेको छ । तथापि, जनताले यो पार्टीभित्र हुने राजनीतिक हिसाबकिताब मिलानले देशमा दूरगामी असर पार्ने भनी टिप्पणी गर्न छाडेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)