‘२५ वर्षपछि दरबार हत्याकाण्डको किन अनुसन्धान गर्ने कुरा आयो ? यो ख्यालख्यालमा गर्ने कुरा होइन’
shilapatra.com · Tue Jun 09 14:49:00 GMT 2026
गृहमन्त्रीमा ४९ दिनपछि दोहोरिएका सुधन गुरुङले पदभार गर्ने क्रममा निर्णय लिए– दरबार हत्याकाण्डको थप छानबिन गर्ने । गृहमन्त्री गुरुङले गरेका चारवटा निर्णयमध्ये दोस्रो निर्णयमा छ उक्त हत्याकाण्डको छानबिन गर्नेबारे विषय ।
१९ जेठ २०५८ सालको शुक्रबार राति ९ बजे नारायणहिटी राजदरबारमा ठूलो हत्याकाण्ड भएको थियो । उक्त हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित ठूलो संख्यामा राजपरिवारका सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्ड युवराजा दीपेन्द्रले गरेको दाबी गरिँदै आएको छ । तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा गठन भएको अनुसन्धान आयोगको प्रतिवेदनले पनि दीपेन्द्रले हत्याकाण्ड मच्चाएको निष्कर्ष निकालेको थियो ।
यद्यपि, आमनागरिकमा अहिले पनि ‘षडयन्त्रको सिद्धान्त’मा मत आइरहेको छ । हत्याकाण्ड ‘अनभिजिवल शक्ति’को रणनीतिमा भएको दाबी गरिन्छ । त्यसैले, १९ जेठको दबार हत्याकाण्ड एक प्रकारले आमचासोमा रहेको हत्याकाण्ड हो । तर, यो एक प्रकारले निष्कर्ष नस्किने हत्याकाण्डजस्तो पनि हुन पुगेको छ । त्यसैले, २६ वर्षपछि एक्कासि गृहमन्त्री गुरुङले पुराना प्रतिवेदनहरू खोलेर थप छानबिन गर्ने निर्णयले थप चासो बढाएको छ ।
जेन–जी विद्रोहबाट बनेको नयाँ सरकारले दरबार हत्याकाण्डको विषयमा नयाँ तथ्य फेला पारेको वा हत्यकाण्डबारे सरकारको फरक धारणा भएका कारणले थप अध्ययन हुन लागेको हो ? भन्ने चासो बढेको छ ।
कानुनतः थप अनुसन्धान गर्न भने मिल्छ । पुराना तर सल्टिन नसकेका महत्त्वपूर्ण घटनाको छानबिन र अनुसन्धानका लागि कानुनले रोक्न भने सक्दैन । साथै, राजनीतिक शक्तिकेन्द्रले पनि यसमा चासो राख्न भने पाउँछ । तर, अहिलेको सरकारले कुन राजनीतिक उद्देश्य वा कुन नयाँ तथ्यका आधारमा थप छानबिन गर्न खोजेको हो ? भन्ने चासो रहेको संवैधानिक कानुनका विज्ञ प्राध्यापक डाक्टर विपिन अधिकारीको भनाइ छ ।
शिलापत्रसँगको कुराकानीमा अधिकारीले सरकारले नयाँ तथ्य फेला पारेको हो वा फरक कुनै अवधारणा भएर २५ वर्षपछि अध्ययन गर्न लागेको हो भन्ने महत्त्वपूर्ण कुरा भएको बताए । अधिकारीले भने, ‘२५ वर्षपछि दरबार हत्याकाण्डको किन अनुसन्धान गर्ने कुरा आयो ? यो ख्यालख्यालमा गर्ने कुरा होइन । त्यो कुरा आमनागरिकलाई सरकारले भन्नुपर्छ, अध्याँरोमा राखेर अनुसन्धान गर्न मिल्दैन ।’
अधिकारीले नागरिकलाई अलमल्याउने, हल्लाखल्ला गर्ने वा विषयान्तर गर्ने रणनीतिमा छानबिनको विषय ल्याएको भए गम्भीर खतरा हुने उल्लेख गरे ।
तत्कालीन राजा वीरेन्द्रका सैनिक सचिव विवेककुमार शाहले पनि दरबार हत्याकाण्डको विषय आफ्नो पुस्तकमा लेखेका छन् । सैनिक सचिव शाहको संस्मरण ‘मैले देखेको दरबार’मा युवराज दीपेन्द्रको आनी–बानीदेखि १९ जेठको घटनाबारे प्रशस्त लेखेका छन् । उनको पुस्तकको निष्कर्ष पनि दरबार हत्याकाण्डमा दीपेन्द्र नै संलग्न रहेको भन्ने देखिन्छ ।
नेपालको राजनीतिक इतिहासका लागि १९ जेठ ‘टर्निङ प्वाइन्ट’को रूपमा हेरिन्छ । नेपालमा राजतन्त्रको अन्त्य पनि त्यही दिन भएको भन्दै टिप्पणी पनि हुने गरेको थियो । राजा वीरेन्द्रको हत्या नै नेपालको राजतन्त्र अन्त्यका लागि रचिएको षडयन्त्र थियो भन्ने टिप्पणी पनि नभएको भने होइन । त्यतिबेला तत्कालीन नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले कोतपर्व भनेर नै लेख लेखेका थिए । उक्त लेखको चर्चा र विवाद भएको थियो ।
राजा वीरेन्द्रको हत्यापछि युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो । यद्यपि, उनी पनि अचेत अवस्थामै राजा भएका थिए । तत्कालीन राजपरिषद्ले दीपेन्द्रलाई राजा घोषणा गरे पनि उनको पनि निधन भएको थियो । वीरेन्द्र, ऐश्वर्य, निराजन, श्रृति, धीरेन्द्रसहित परिवारका सबै सदस्यालाई गोली हानेपछि दीपेन्द्रले आफूलाई गोली हानेको दाबी गरिन्छ । उक्त दिन पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा थिए । उनका छोरा पारस र कोमल भने राजदरबारमै थिए । कोमललाई पनि गोली लागेको थियो ।
त्यसैले, नेपालको राजनीतिको केन्द्रमा राजदरबार हत्याकाण्ड सधैँ रहिररहेको छ । अहिले गृहमन्त्री गुरुङले पनि राजनीतिक उद्देश्यले प्रेरित भएर छानबिन गर्न खोजेको हुन सक्ने विश्लेषण पनि भइरहेको छ । पछिल्ला दिनमा नेपालमा राजतन्त्रप्रति सकरात्मक र लोकप्रियता बढ्दै गएको देखिन्छ । त्यसलाई काउन्टर गर्ने रणनीतिसहित गुरुङले उठाएको हुनसक्ने पनि विश्लेषण छ । त्यसबाहेक नेपालका पछिल्ला सबै घटनालाई सफाइ गरौँ र राजदरबारको हत्याकाण्डलाई पनि नछोडौँ भन्ने उद्देश्यले पनि हुनसक्ने अनुमान गरिएको छ ।
एक पूर्वजर्नेलले शिलापत्रसँगको कुराकानीमा ‘अहिलेको अवस्थामा कति सान्दर्भिक छ भन्दा पनि राजननीतिक उद्देश्यले प्रेरित हुनसक्ने’ विश्लेषण गरेका छन् । उनले भने, ‘यो विषय उठाइरह्यो भने त्यसको प्रतिफल कुनै न कुनै रूपमा प्रकट हुनसक्ने चाहनाबाट पनि छानबिनको विषय उठेको हुनसक्ने देखिन्छ ।’
एउटा रोचक पक्षचाहिँ त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन भइसकेको भए पनि गृहमन्त्री रामचन्द्र पौडेल भने अहिले राष्ट्रपति छन् । त्यसले गृहमन्त्री गुरुङको छानबिन कति निष्पक्ष र पारदर्शी हुन्छ भन्ने पनि चासो रहेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३
२०:३४
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)