गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम
khabarhub.com · Tue Oct 20 14:06:33 GMT 2026

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना एवं दर्शनका लागि खोलिने गोकर्णेश्वर नगरपालिका–४ स्थित वनदेवी मन्दिरमा ठूलो संख्यामा आज भक्तजनले दर्शन गरेका छन् । साविकको राजनिकुञ्ज हाल नेपाल ट्रष्टको कार्यालय मातहत रहेको गोकर्ण जङ्गलस्थित राष्ट्रिय वन क्षेत्र भित्रको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण वनदेवी मन्दिरमा नवरात्रका अवसरमा पूजा, आराधना एवं दर्शनका लागि राजधानीका विभिन्न स्थानबाट भक्तजन पुग्ने गरेका छन् । यो मन्दिर वर्षमा नवरात्रका चार दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।
फूलपातीदेखि विजयादशमीसम्म चार दिन हजारौँ भक्तजनले यहाँ पूजा आराधना एवं दर्शन गर्ने गरेको नेपाल ट्रष्टको कार्यालय गोकर्ण दक्षिणढोका एकाईका कर्मचारी प्रकाश केसीले जानकारी दिए । नेपाल ट्रष्टको कार्यालयले पनि वर्षमा एकपटक बोकाको बलिसहित पूजा गर्ने गरेको पनि उनले सुनाए । यो मन्दिरमा प्रवेश गर्ने चार वटा बाटो रहेका छन् । गोकर्णेश्वर महादेव मन्दिरअघि हाल नेपाली सेनाको विपद् व्यवस्थापन गणको मूलढोका, उत्तरवाहिनीस्थित पञ्चमुखी हनुमान मन्दिर नजिकैको प्रवेशद्वार, गोकर्ण फरेस्ट रिसोर्टको प्रवेशद्वार र दक्षिणढोकास्थित नेपाल ट्रष्टको कार्यालय गोकर्ण एकाईबाट जान सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)