मादी आमहत्याका दोषी छिटो पत्ता लगाऊ
rajdhanidaily.com · Tue Sep 07 23:21:43 GMT 2021
संखुवासभा जिल्लाको मादी–१ उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्या प्रकरणले सबैको आङ नै सिरिंङ बनाइरहेको छ । सो घटनाको अनुसन्धान जारी रहेकै बेला मृतकहरूको शवको पोस्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ । घटनास्थलबाट १५ तोला सुन र ३ लाख रुपैयाँ फेला परेको छ । यसले घटनालाई झनै रहस्यमय बनाइरहेको छ । आखिर वंश नाश हुनेगरी घटाइएको घटना केका लागि भएको थियो ? पैसा र धनमालका लागि घटाइएको थियो भने घटनास्थलमा नगद र सुनचाँदी भेटिने थिएन । रिसइवी साँधेर गरिएको थियो भने वंश नाश हुनेगरी घटना घट्ने थिएन । कसैले अपुताली सम्पत्ति खानका लागि गरेको मान्ने हो भने दुई जना युवाहरू विदेशमा काम गरिरहेका छन् । यसको रहस्य खुल्न बाँकी रहँदा प्रहरीको खोज तथा अनुसन्धान जारी छ । वर्षाको समय भएकाले क्लु तथा संकेत र पदचिह्न वा पसिना र औंलाका छाप पनि पाइन गाह्रो देखिएको छ । तालिम प्राप्त कुकुर प्रयोगमा रातमा परेको पानीझरीले बाधा पु¥याएको देखिन्छ । हरेक घटनाको वास्तविकता खोजीको आधार घटना घटेको स्थान र घटना प्रकृति मुचुल्का हुने भएकाले यसलाई आधार मानेर प्रहरी अनुसन्धान अघि बढिरहेको देखिन्छ ।
अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लगायतको विशेष टोली लागिरहेको छ । तर, जनसाधारणको प्रश्न भने यस्ता घटना किन घटिरहन्छन् भन्नेमा बढी केन्द्रित छ । गत वर्ष छिमेकी जिल्ला पाँचथरमा पनि यस्तै हृदयविदारक घटना घट्न गएको थियो । यसबाट सबैले पाठ सिक्ने र अनुसन्धानका साथै घटना घट्न नदिनका लागि सुरक्षाको प्रबन्ध पनि राज्यबाट हुनेछ भन्ने आशा गरिएको थियो । तर, पनि सामूहिक हत्याको यस्तो हृदयविदारक घटना फेरि पनि घट्न पुग्यो । प्रहरीले अनुसन्धान शून्यमा नरहेको र निरन्तर अघि बढिरहेको जानकारी दिए पनि हत्यामा संलग्न नभेटिदासम्म खुला रहस्य बनेको यो घटनाले सबैलाई त्राहीमाम बनाएर राखिरहनेछ । नेपालमा समाजिक सुरक्षा चिन्ताको विषय बनेर आएको छ । मानिस सापेक्ष चेतनशील बन्दै पनि गइरहेका छन् । परस्पर सामाजिक अन्तरघुलन र सहकार्य पनि बढेर गइरहेको छ । तर, योसँगै सामूहिक हत्याका घटना पनि हुँदै गइरहेका छन् । यसले देशका गाउँठाउँहरूमा राज्यको कमजोर उपस्थिति रहेको यथार्थतालाई उजागर गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)