मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यालु लेकमा हिउँ पन्छाउने काम रोकिँदा हुम्लाको लिमी जाने सडक अझै अवरुद्ध

hamrakura.com · Wed Oct 21 00:00:00 GMT 2026

हुम्ला। हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको बस्ती लिमी जोड्ने सडकमा जमेको हिउँ पन्छाउने काम अधुरै रोकिएपछि स्थानीयवासी तथा पर्यटकहरूको आवागमनमा पुनः सास्ती थपिएको छ। ५,००० मिटरभन्दा बढी उचाइमा रहेको न्यालु लेकमा ३ देखि ५ फिटसम्म जमेको हिउँ हटाउन जेसीबी परिचालन गरिए पनि सिमकोटतर्फको भाग मात्र सफा गरी लिमीतर्फको भाग नपन्छाई टोली फर्किएको हो।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयको सहयोगमा सडक खुलाउने काम सुरु गरिएको थियो। तर, सेलिवाङ दह क्षेत्रसम्मको हिउँ हटाएपछि काम बीचमै रोकिएको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए। सडक अवरुद्ध हुँदा आन्तरिक तथा बाह्य पर्यटक, स्थानीयवासी र अत्यावश्यक सेवाका बिरामीहरू मारमा परेका छन् भने कतिपय यात्रुहरू जोखिम मोलेरै हिउँ छिचोल्दै सिमकोट ओहोरदोहोर गर्न बाध्य भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)