मेलम्ची पानीमा लापर्बाही रोक
rajdhanidaily.com · Sun Feb 26 23:26:34 GMT 2023
अहिले काठमाडौं उपत्यकाका बाटाहरूमा मेलम्चीको पानी बे पर्बाह बगिरहेको छ । अर्कोतिर सबै बस्तीमा खानेपानीको उचित वितरण गरिएको छैन । महानगरपालिकाको असन, इन्द्रचोक, बांगे मुढा, वसन्तपुर, ताहाचल, कालीमाटी तथा टेकुजस्ता सहरकै मुटुमा पानी अभाव छ । हप्तामा एकपटक मेलम्चीपानीको दर्शन गर्न पाए पनि भनेजति पानी आउने गरेको छैन । स्थानीय जनता खानेपानीबाट आजित छन् । तीन दिनमा एकपटक पानीदिने भनी सार्वजनिक सूचना टाँस गरिए पनि त्यसको न त समय तालिका छ न त व्यावहारिक प्रयोग नै ! बरु काठमाडौं उपत्यकाका सडक र बाटामा मेलम्चीको पानी बगिरहेको छ । महाराजगन्ज, नयाँ बसपार्क, बालाजु र छाउनी खण्डमा मेलम्चीको पानी चुहिएर बाटैभरि छताछुल्ल छ । आज रसाएको जस्तो देखिएको ठाउँमा भोलि गाडी नै पार गर्न नसक्ने गरी ठूलो खाल्टो बनिसकेको हुन्छ ।
यसैमा ‘घुँडामाथि पिलो थप’ भनेझैं भूमिगत बिजुलीको कामले मेलम्चीका खानेपानीका पाइपमा प्वाल पारी अनावश्यक चुहावट ल्याएर सडक हिलाम्मे र हिँड्नै कठिन हुने बनाएको छ । एकताका ‘मेलम्चीको पानी ल्याएर काठमाडौंका सडक छलछली पखाल्छु’ भनी भाषण गर्ने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना अहिले उल्टो रूपमा व्यवहारमा लागू हुन पुगेको छ । पानीवितरण गरि एका भनिएका मुख्य सहरी क्षेत्रमा हरपल पानी चुहावट भइरहेको छ । भूमिगत बिजुली लाइन निर्माण कार्य सायद खानेपानी विभागसँग सहकार्य गरेर अघि बढिरहेको छैन । अथवा हुन सक्छ खानेपानी संस्थाले वास्ता गरेको छैन । किनकि, सरकारले पानीमर्मत कार्यमा बजेट नछुट्याएको पनि हुन सक्छ । मन्त्रालय र मन्त्रीबीच नै समन्वय नहुने हाम्रो देशमा विभागबीच कहिल्यै समन्वय भएको देखिएको पनि छैन । बरु विभागबीच विवाद भने देखिएको छ । नेपाली राजनीतिमा देखिएको गाली संस्कृतिले कहाँ पो अछुतो राखेको छ र ! तर, पनि चुहावट मर्मत भइरहेको भन्ने कुरा समाचारमा आउन छाडेका भने छै नन् । अचम्मको कुरा त के भइरहेको छ भने बाटो र सडकमा यसरी छताछुल्ल पानी बगिरहने र बेवास्ता भइरहने हो भने दीर्घकालीन रूपमा बाटो बिग्रिएर जाने सडक विभागले चेतावनी दिइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)