लीद्वारा नेपालको चीन नीतिको प्रशंसा
annapurnapost.com · Wed Sep 14 00:38:00 GMT 2022
काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेस, स्थायी समिति अध्यक्ष ली चान्सुले नेपालको चीन नीतिको प्रशंसा गरेका छन्। लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटमा एक चीनलाई लिएर नेपालले पहिलेदेखि लिएको नीतिलाई लिएर ‘खुसी’ व्यक्त गरेका हुन्। त्यस क्रममा उनले चीनले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।
प्रधानमन्त्री देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी दिँदै नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध रहेको बताए। चीनका विरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न नदिने प्रतिबद्धता देउवाले जनाए। उनले नेपालको आर्थिक र सामाजिक क्षेत्रमा लामो समयदेखि चीनले गर्दै आएको सहयोगको प्रशंसा गरे। नेपाल–चीन द्वीपक्षीय सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने उनको भनाइ थियो। चिनियाँ प्रतिनिधिमण्डल प्रधानमन्त्री देउवासँगको भेटका लागि सिंहदरबार पुगेको थियो। लीले मंगलबार नै प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तासाझेदार माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेट गरे। राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)