फेन्सिङमा एपीएफलाई डेंगीको पिरलो
ekantipur.com · Sat Oct 15 01:18:58 GMT 2022
पोखरा — ‘यसपालि हाम्रो लक्ष्य त टिम च्याम्पियन बन्ने थियो तर सकेनौं ।’ पोखरा रंगशालास्थित कभर्डहलमा शुक्रबार विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबले फेन्सिङको टिम च्याम्पियन ट्रफी उचालिरहँदा एपीएफका प्रशिक्षक सुवास आचार्य यसो भन्दै थिए ।
फेन्सिङको शुक्रबार सकिएको प्रतिस्पर्धामा आर्मीले ५ स्वर्णसहित १७ पदक जितेर टिम च्याम्पियन ट्रफी उचालेको थियो । एपीएफ दुई स्वर्णसहित १३ पदकका साथ तेस्रो स्थानमा थियो । वाग्मती प्रदेशले उछिन्दा एपीएफ एक स्थान तल झरेको हो । एपीएफ किन च्याम्पियनको लक्ष्यमा पुग्न सकेन त ? प्रशिक्षक आचार्यले आफ्ना स्वर्णका आस गरिएका अधिकांश खेलाडी डेंगी संक्रमणबाट गु्रजिएकाले त्यो सफलता भेट्न नसकेको जनाए । मन्दिरा थापा, अनिता बस्नेत, उर्मिला लामालगायतका खेलाडी डेंगी संक्रमणबाट तंग्रिँदै प्रतिस्पर्धामा आएका थिए भने अर्का स्वर्णको आस गरेका खेलाडी जंग गिरीको नाडीमा समस्या थियो । अप्रेसन गर्नुपर्ने भए पनि वैकल्पिक खेलाडी नभएकाले उनैले प्रतिस्पर्धा गरे । उनले इपीमा रजत पदकमा चित्त बुझाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)