अमेरिका र इजरायल फेरि इरानमाथि हमला गर्ने तयारीमा छन् ?
annapurnapost.com · Sun May 17 05:09:41 GMT 2026

अमेरिका : इरानका केही अधिकारीहरूले अमेरिका र खाडी मुलुकहरूलाई फेरि युद्ध सुरु हुन सक्ने आशंकासहित चेतावनी दिएका छन् । इस्लामिक रिपब्लिक अफ इरानका सर्वोच्च नेता (सुप्रिम लिडर) का सल्लाहकार मोहम्मद मोखबरले हालै खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डामाथि गरिएको इरानी हमलाको उल्लेख गर्दै भनेका छन्, ‘हालको युद्धमा सेन्टकम (अमेरिकी सेन्ट्रल कमाण्ड) का भाडाका अड्डामाथि हाम्रो जवाफी हमला निकै संयमित थियो, तर यो संयम सधैं रहँदैन ।’
उनले भने, ‘इरानले वर्षौंदेखि यी देशहरूलाई मित्र र दाजुभाइको रूपमा हेरेको थियो, तर उनीहरूले आफ्नो स्वतन्त्रता बेचेर आफ्ना देश र घरहरूलाई प्यालेस्टाइन र इरानका शत्रुहरूको हातमा सुम्पिएका छन् ।’ इरानको सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलसँग सम्बन्धित मिडिया आउटलेट ‘नूरन्युज’ ले एक अज्ञात वरिष्ठ सैन्य अधिकारीलाई उद्धृत गर्दै चेतावनी दिएको छ कि यदि इरानमाथि फेरि हमला भयो भने ४० दिनको युद्धका क्रममा केही कारणले निशाना नबनाइएका लक्ष्यहरू यस पटक प्राथमिक अपरेशनल सूचीमा पर्नेछन् ।
यसअघि ‘न्यूयोर्क टाइम्स’ ले मध्यपूर्वका दुई अज्ञात अधिकारीलाई उद्धृत गर्दै अमेरिका र इजरायलले इरानमाथि फेरि हमला गर्ने सम्भावनाबारे विचार गरिरहेको र त्यसका लागि तयारी गरिरहेको जनाएको थियो । रिपोर्टअनुसार ती हमला अर्को हप्तासम्म सुरु हुन सक्ने सम्भावना छ । नाम नखुलाउने शर्तमा बोल्दै ती अधिकारीहरूले अमेरिका र इजरायलको यो तयारी युद्धविरामपछि अहिलेसम्मकै सबैभन्दा व्यापक सैन्य तयारी भएको बताएका छन्।
अमेरिकी रक्षा मन्त्रीले यस हप्ता अमेरिकी कंग्रेसका सांसदहरूलाई पेन्टागनसँग विभिन्न परिस्थितिका लागि योजना तयार रहेको बताएका छन् । आवश्यक परे युद्ध पुनः सुरु गर्ने, सेना घटाउने वा क्षेत्रबाट फिर्ता बोलाउने विकल्प समेत तयार रहेको जनाइएको छ ।
‘न्यूयोर्क टाइम्स’ का अनुसार यदि डोनाल्ड ट्रम्पले हमला गर्ने निर्णय गरे भने एउटा विकल्प इरानका सैन्य अड्डा र पूर्वाधारमाथि व्यापक बमबारी गर्नु हुनेछ भने अर्को विकल्प स्थलगत सैन्य अभियान सञ्चालन गरेर इरानको समृद्ध युरेनियम भण्डार हटाउने प्रयास गर्नु हुनेछ । विश्वास गरिन्छ कि १२ दिने युद्धका क्रममा परमाणु केन्द्रहरूमा भएको बमबारीपछि ती युरेनियम भण्डार भग्नावशेषमुनि दबिएका छन् ।
अमेरिका र इजरायलको सम्भावित सैन्य कारबाहीबारे अड्कलबाजी त्यसपछि झन् बढेको हो, जब डोनाल्ड ट्रम्पको हालैको चीन भ्रमण र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ताबाट इरान युद्ध तथा होर्मुज स्ट्रेटबारे कुनै ठोस निष्कर्ष निस्किएन । मंगलबार चीन प्रस्थान गर्नुअघि ट्रम्पले फेरि इरानलाई चेतावनी दिँदै अमेरिका सँग सम्झौता गर्नैपर्ने, नत्र ‘नष्ट गरिने’ बताएका थिए । सोमबार उनले इरानसँग भएको युद्धविरामलाई ‘अत्यन्त नाजुक’ बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
इजरायल