प्रिमियम मूल्यमा विद्युत् प्राधिकरणको आईपीओ आउँदै
ekantipur.com · Tue Aug 15 00:47:52 GMT 2023
काठमाडौँ — लामो समयदेखि चर्चामा रहेको नेपाल विद्युत् प्राधिकरणको सेयर निष्कासन प्रक्रिया बढीमा ६ महिनाभित्र पूरा हुने भएको छ । प्राधिकरणले सर्वसाधारणलाई प्रतिकित्ता २३० देखि २५० सम्म पर्ने गरी सेयर जारी गर्ने तयारी गरेको छ । यसका लागि प्राधिकरणले कम्पनीको रेटिङसमेत गराइसकेको छ । रेटिङ संस्था इक्राले गरेको क्रेडिट रेटिङले प्राधिकरणलाई डबल ए प्लस दिएको छ ।
पहिलो चरणमा सर्वसाधारणलाई १० देखि २० प्रतिशत सेयर निष्कासनको तयारी गरिएको प्राधिकरणले जनाएको छ । यसका लागि प्राधिकरणको बोर्ड बैठकले फाइल स्वीकृत गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाएको छ । प्राधिकरण ऐन ०४१ मा रहेको स्पष्ट व्यवस्थाबमोजिम सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ऊर्जाले अर्थ मन्त्रालयलाई सहमतिका लागि पत्र पठाएको छ । अर्थको सहमतिपछि मन्त्रिपरिषद्मा गएर स्वीकृति पाएपछि त्यसको प्रक्रिया अगाडि बढ्ने घिसिङले जनाए । अबको करिब ४ देखि ६ महिनामा प्राधिकरणको सेयर सर्वसाधारणको हातमा पर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)