मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

विनयकुमार कसजू - ग्रामीण पत्रकारिताका पर्याय

Ujyaaloonline.com · Thu Apr 04 23:27:26 UTC 2024

नामले विनयकुमार कसजूलाई मैले चिनेको २०३९ सालमै हो । तर उहाँलाई भेट्ने सुयोग चाहिँ २०४७ सालको जेठ तेस्रो साता मात्रै जुर्‍याे । चिनेको र भेटेको १८ वर्षे अन्तरालमा मैले विनय कसजूका लघु कथा, टिप्पणी, रचना र सत्य साप्ताहिकमा छापिएका अनेकौँ सम्पादकीयहरू पढिसकेको थिएँ । प्रकाश साप्ताहिकको प्रकाशनलाई ०४२ सालको भदौताका बाग्मती अञ्चलाधीशले बन्द गरेपछि हामीले दृष्टि साप्ताहिक प्रकाशन गर्न थालेका थियौँ । प्रकाशक शम्भु श्रेष्ठ पाल्पाकै भएकाले बेला बेला विनय कसजूको कुरा भइरहन्थ्यो । तर भेटघाट जुरेको थिएन । दृष्टिमा मैले लेखेका समाचार र टिप्पणी विनयजीले पढेको कुरा बेला बेला म थाहा पाउँथे । उहाँसित एक–दुईपल्ट टेलिफोनमा कुराकानी पनि भइसकेको थियो । त्यसैले विनयजीसित भेट भएपछि हामी दुईलाई एकअर्कासित पेशागत र व्यक्तिगत भलाकुसारी शुरु गर्न र त्यसमा गफिन खासै समय लागेन ।

भेटघाट हुनुअघि उहाँलाई मैले चिनेको तरिका अहिलेका लागि अचम्मै लाग्दो छ । विराटनगरमा त्यो बेला म दिउँसो कोशी पुस्तक पसलमा बस्थेँ र राति कलेज पढ्थेँ । २०३८ साल मङ्सिरकाे अन्त्यमा तीन साता विराटनगरको जेलमा थुनिएर निस्केपछि घृत न्यौपाने (स्वर्गीय) र मैले विराटनगरमा कोशी पुस्तक पसल शुरु गरेका थियौँ । किताब मात्र बेच्दा पसल खासै चलेन । त्यसपछि सो पसल विराटनगरको ट्राफिक चोकमा सारेर पत्रपत्रिका पनि बेच्न थालियो । हाम्रो पसलमा काठमाण्डाैबाट निस्कने साप्ताहिकका साथै साहित्यिक पत्रिका पनि आउँथे । भारतबाट आउने दैनिक बाहेक दिनमान, सारिका र कादम्बिनी जस्ता पत्रिका विराटनगरमा लोकप्रिय थिए र ती पत्रिका पनि हाम्रो पसलमा नियमित आउँथे । विराटनगर त्यो बेला औद्योगिक नगर मात्र हैन, नेपाली साहित्य र राजनीतिको पनि केन्द्र थियो । कवि र साहित्यकारहरू भानुभक्त पोखरेल, दधिराज सुवेदी, कृष्णभूषण बल, प्रमोद प्रधान, महेश प्रसाईं, देबकुमारी थापा, इन्दिरा प्रसाईं, लक्ष्मण नेवटिया जस्ता नाम चलेका र साहित्यमा भर्खर बामे सर्दै गरेका सुवास ढकाल, जीनाथ धमला जस्ता मेरा अनेक साथीहरू नियमित कोशी पुस्तक पसलमा आइपुग्थे ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)