फिल्म क्षेत्रका पेशाकर्मीलाई समुदायसँग जोड्ने र समुदायका तर्फबाट सम्मान गर्ने कार्यक्रम हो ‘टोल-टोलमा फिल्म महोत्सव’
kalakarmi.com · Wed Jun 10 01:32:18 GMT 2026

काठमाडौं- काठमाडौं महानगरपालिकाले सञ्चालन गर्न लागेको ‘टोल-टोलमा फिल्म महोत्सव’ कार्यक्रमले फिल्म क्षेत्रका सबै विधालाई समुदायसँग जोड्ने धारणा व्यक्त गरिएको छ ।
यस क्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं फिल्म छनोट तथा कार्यक्रम मूल्याङ्कन समितिका संयोजक आशामान संगतले फिल्मलाई मनोरञ्जनका रुपमा मात्र लिनु नहुने बताएका छन् ।
यो मनोरञ्जनको माध्यम त हो नै । यसबाहेक शिक्षा, सूचना, सन्देश तथा जानकारीको संवाहक र रचनात्मक उद्योगको विकास गर्ने क्षेत्रका रुपमा परिचित गराउनु पर्ने बेला आएको उनको भनाइ छ ।
महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले कार्यान्वयनमा ल्याउन लागेको ‘टोल-टोलमा फिल्म फेस्टिभल’ कार्यक्रमको अपेक्षित नतिजाका विषयमा कुरा गर्दै उनले भने- ‘फिल्म क्षेत्रलाई सम्मानित पेशाका रुपमा समुदायमा परिचित गराएर यसको विकास र विस्तारमा योगदान दिने लक्ष्य राखेका छौँ ।’
समुदाय स्तरमा फिल्म महोत्सवका कार्यक्रम सञ्चालन व्यवस्थापन गर्न महानगरपालिकाले सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा आवद्ध गैर नाफामूलक संघसंस्थाहरु, युथ क्लव, सामुदायिक संस्था, टोल विकास समिति, सांस्कृतिक समूह, पुचःलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
महानगरपालिकाले उपलब्ध गराएको शर्त, सीमा तथा बन्देज, मिति तथा स्थानमा, महानगरपालिकाले नै उपलब्ध गराएका फिल्म र प्राविधिक साधन तथा उपकरणको प्रयोग गरेर निःशुल्क फिल्म प्रदर्शन गर्नु पर्नेछ । यसरी फिल्म देखाइने स्थानहरु परम्परागत टोल, वहाः, वही, चोक, ननी, एम्पीथियटर, पार्क जस्ता खुला स्थान हुनेछन् ।
यस प्रयोजनका लागि महानगरपालिकाले खुला प्रस्ताव आव्हान गरेको छ । जेठ २७ गते राति १२ बजे अगाडि इच्छुकले महानगरपालिकाको वेबसाइटमा दिइएको ठेगानाबाट प्रस्ताव दिन सक्नेछन् ।
यस प्रक्रियाबाट छनोट भएका संघ-संस्थाहरुलाई सहभागितामूलक टोल-टोलमा फिल्म महोत्सव’ आयोजना गराउन कार्यक्रम सञ्चालन सहयोग, क्युरेटेड फिल्म तथा फिल्म प्रदर्शनका लागि एलइडी, साउण्डसहितको प्राविधिक सहयोग महानगरपालिकाबाट उपलब्ध गराइने छ ।
यो समुदाय स्तरको कार्यक्रम भएकोले व्यवस्थापनमा सहकार्य गर्न इच्छुक संघ संस्थालाई प्रस्ताव पेश गर्न विभागका प्रमुख कुमारी राईले आग्रह गरेकी छिन् ।
समुदाय स्तरमा देखाइने फिल्मको गुणस्तर, विषय वस्तु, प्रस्तुतिकरण जस्ता विषय छनोट गर्न, कार्यक्रमलाई उद्देश्यमूलक बनाउने उद्देश्यले निगरानी, नियमन तथा नियन्त्रण गर्न संगतको संयोजकत्वमा समिति गठन भएको छ ।
वडा नं.१८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका सदस्य न्हुच्छेकाजी महर्जन, सम्पदा तथा पर्यटन विभागका प्रमुख, चलचित्र विकास बोर्ड, नेपाल फिल्म एकेडेमी, युनेस्को नेपाल, किम्फ फाउन्डेसन, चलचित्र निर्देशक समाज, महानगरपालिकाको सूचना प्रविधि विभाग र कार्यवाहक प्रमुखको सचिवालयका प्रतिनिधिलाई सदस्य राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ