सप्तरीमा आगलागीबाट करिब ४४ लाखको क्षति
gorkhapatraonline.com · Wed Jun 10 01:35:59 GMT 2026

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ जोगिनिया टोलमा मङ्गलबार भएको आगलागीबाट पाँच परिवारका घर जलेर नष्ट भएका छन्।
स्थानीय दुखु खंगको चारकोठे घरमा विद्युतीय तार सर्ट भई अचानक आगलागी भएको थियो। सुरुमा दुखु खंगको घरबाट फैलिएको आगो नजिकै रहेका छिमेकीका घरमा समेत सल्किँदा पाँच परिवारका घर तथा सम्पत्ति पूर्ण रूपमा जलेर नष्ट भएको हो।
आगलागीबाट ४३ लाख ९३ हजार पाँच रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयकुमार कार्कीले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आगलागीबाट दुखु खंगको चारकोठे घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीमा दुई वटा बाख्रा र एक वटा गाई मरेका छन् भने तीन वटा गाई जलेर घाइते भएका छन्। लत्ताकपडा, अन्नपात, सुनचाँदीलगायतका सामग्री नष्ट हुँदा सात लाख ८० हजार रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
त्यसैगरी, सदमलाल खंगको घर पूर्ण रूपमा जलेर नष्ट हुँदा दुई वटा खसी मरेका छन्। लत्ताकपडा, अन्नपात तथा सुनचाँदीसमेत गरी ११ लाख रुपियाँ बराबरको क्षति भएको छ।
बच्चु खंगको घर तथा घरभित्र रहेका सामग्री जलेर नष्ट हुँदा ११ लाख ३६ हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। यस्तै, लखन खंगको बाँसको टाटी र टिनको छानो भएको दुईकोठे घर पूर्ण रूपमा जलेर नष्ट हुँदा आठ लाख ४८ हजार रुपियाँ बराबरको क्षति भएको छ।
नारायण खंगको घरमा समेत आगलागी भई घरभित्र रहेका लत्ताकपडा, अन्नपात तथा सुनचाँदी जलेर नष्ट हुँदा पाँच लाख २९ हजार पाँच सय रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
स्थानीयवासी, नेपाल प्रहरी तथा हनुमाननगर कङ्कालिनी नगरपालिका र कञ्चनपुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)