अर्थमन्त्रीसँग बजेटबारे छलफल हुँदै, लेखा समितिले ईभी जाँचपासको खोजी गर्ने
hamrakura.com · Wed Jun 10 00:00:00 GMT 2026
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतका दुई महत्त्वपूर्ण विषयगत समितिहरूको बैठक आज (बुधवार) बस्दै छ। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति र सार्वजनिक लेखा समितिले आ-आफ्नो कार्यसूची तय गर्दै समसामयिक तथा नीतिगत विषयमा छलफल गर्न बैठक आह्वान गरेका हुन्।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बुधवार बिहान ८:०० बजे बस्ने गरी तय भएको छ। उक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) का मुख्य-मुख्य व्यवस्थाहरूका सम्बन्धमा अर्थमन्त्री स्वर्णिम वाग्लेसँग विस्तृत छलफल गर्ने मुख्य कार्यसूची रहेको छ। बजेटका सिद्धान्त, प्राथमिकता र नीतिगत व्यवस्थाहरूबारे सांसदहरूले अर्थमन्त्री वाग्लेसँग जवाफ माग्नेछन्। यसका साथै बैठकमा समितिको आन्तरिक मस्यौदा कार्यविधिमाथि समेत छलफल गरी त्यसलाई टुङ्गो लगाइने जनाइएको छ।
त्यसैगरी, संसद्को अर्को शक्तिशाली समिति, सार्वजनिक लेखा समितिको बैठक पनि बुधवार बिहान ८:०० बजेका लागि नै आह्वान गरिएको छ। यस बैठकमा पछिल्लो समय विद्युतीय सवारी साधन (ईभी) को जाँचपासका सम्बन्धमा उठेका गम्भीर प्रश्न तथा सार्वजनिक चासोका विषयमा केन्द्रित रहेर छलफल हुनेछ।
भन्सार तथा प्राविधिक जाँचपास प्रक्रियामा देखिएका अन्योल, राजश्व चुहावटका आशङ्का र बजारबाट आएका गुनासाहरूका विषयमा समितिले सम्बन्धित सरकारी अधिकारी तथा पक्षहरूसँग आवश्यक जानकारी र स्पष्टीकरण लिने बुझिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
स्वर्णिम वाग्ले