ज्येष्ठ नागरिकको सम्मानित जीवनका लागि एनआरएनएको भूमिका महत्त्वपूर्ण : विज्ञहरू
arthadabali.com · Sun May 17 07:12:58 GMT 2026

काठमाडौँ / तीव्र रूपमा भइरहेको युवा विदेश पलायन तथा देशभित्र घट्दो जनसङ्ख्याका कारण ज्येष्ठ नागरिकहरूको जीवनयापन सहज बनाउन र सम्मानित बुढ्यौली सुनिश्चित गर्न सरकार, निजी क्षेत्र र नागरिक समाजले संयुक्त रूपमा काम गर्नुपर्ने विज्ञहरूले बताएका छन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूके र नेपालमा ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत संस्था पुस्तान्तरण नेपालले शनिबार आयोजना गरेको “नेपालमा सम्मानित बुढ्यौली सिर्जनामा रहेका चुनौती, अवसर र डायस्पोराको भूमिका” विषयक वेबिनारमा सहभागीहरूले सो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रममा बोल्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्माले नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक रहेको बताए । उनले जनसांख्यिकीय परिवर्तन र युवाको बसाइँसराइका कारण बुढ्यौली व्यवस्थापन झनै महत्वपूर्ण बन्दै गएको उल्लेख गरे ।
त्यस्तै, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रामशरण सिम्खडाले उपेक्षित विषयलाई उठान गरेकोमा एनआरएनए यूकेलाई धन्यवाद दिँदै यस विषयलाई ठूला मञ्चहरूमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।
एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले संस्थाले नेपालमा सम्मानित बुढ्यौली प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने जानकारी दिए ।
पुस्तान्तरण नेपालका अध्यक्ष प्रतिवेदन वैद्यले देशको कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी ज्येष्ठ नागरिक रहेको र जनसङ्ख्या वृद्धिदर घट्दो क्रममा रहेकाले बुढ्यौली व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए । उनले स्याहार केन्द्रप्रतिको नकारात्मक दृष्टिकोण, युवाको अभाव र पूर्वाधारको कमीका कारण ज्येष्ठ नागरिकले कठिनाइ भोगिरहेको उल्लेख गरे ।
चिकित्सक बिन्दु पाण्डेले अस्पतालमा धेरै ज्येष्ठ नागरिक एक्लै आउने गरेको उल्लेख गर्दै उपचारसँगै मनोसामाजिक परामर्श आवश्यक रहेको बताइन् । उनले स्वास्थ्य सेवा र औषधि प्रयोगमा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिइन् ।
वेलनेस प्रशिक्षक शारदा घिमिरेले नेपाली खाना र जीवनशैलीलाई उचित रूपमा अपनाउँदा ज्येष्ठ नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने बताइन् ।
नेपाल सोसाइटी अफ जेरन्टोलोजी एण्ड जेरियाट्रिक्सका अध्यक्ष तथा नेपाल जेरियाट्रिक्स सेन्टरका निर्देशक डा. जगदीश क्षेत्रीले ज्येष्ठ नागरिक मन्त्रालय हटाउने निर्णय उचित नभएको भन्दै पुनः कायम गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा सहभागीहरूले सरकार, निजी क्षेत्र, नागरिक समाज तथा डायस्पोरा मिलेर ज्येष्ठ नागरिकको जीवनस्तर सुधार गर्नुपर्ने र यसमा गैरआवासीय नेपालीहरूको भूमिका महत्त्वपूर्ण हुने निष्कर्ष निकालेका थिए ।
सम्बन्धित विषय:
# ज्येष्ठ नागरिक
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)