कांग्रेसले ३ दिन शोक मनाउने
annapurnapost.com · Mon Aug 22 00:39:00 GMT 2022
काठमाडौं : समाजवादी चिन्तक एवं कांग्रेस नेता प्रदीप गिरिको आइतबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनलाई छोरा सन्तोष र भतिजाहरू रन्ययन र सन्दर्भले दागबत्ती दिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, मन्त्रीहरू, राजनीतिक दलका नेता, सांसद, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूले आर्यघाट पुगेर श्रद्धाञ्जली दिएका थिए।
त्यसअघि गिरिको पार्थिवशरीर श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो। प्रधानमन्त्री देउवाले गिरिको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान एवं श्रद्धाञ्जली व्यक्त गरेका थिए। सोही अवसरमा नेपाल प्रहरीको एक टुकडीले गिरिप्रति सलामी अर्पण गरेको थियो। पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राजनीतिक दलका नेता, सांसदलगायतले सानेपा पुगेर श्रद्धाञ्जली दिएका थिए। गिरिको उपचारका क्रममा शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको थियो। उनी घाँटीको क्यान्सरबाट पीडित थिए। भारतमा उपचार गराएर फर्किएपछि निमोनिया संक्रमण देखिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)