पाकिस्तानले बलोचिस्तानका उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि...
baahrakhari.com · Wed Jun 10 02:55:02 GMT 2026

काठमाडौं । पाकिस्तानले आफ्नो देशको बलोचिस्तान प्रान्तमा सक्रिय उग्रवादी समूहहरूलाई ‘फितना अल–हिन्दुस्तान’ भनेर सम्बोधन गर्न सरकारी निकायहरूलाई निर्देशन दिएको भन्दै भारतले निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघका लागि भारतका प्रतिनिधिले यो कदम भारतविरोधी दुष्प्रचारलाई संस्थागत गर्ने प्रयास भएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा सोमबार भारतका स्थायी प्रतिनिधि पी. हसरशले यसलाई धार्मिक शब्दावलीमा बेरिएको सरकार–प्रायोजित गलत सूचना र दुष्प्रचारको संज्ञा दिएका छन् ।
“आफ्नो सिमानाभित्र रहेका समूहहरूलाई ‘फितना अल–हिन्दुस्तान’ भन्न सुरु गर्न पाकिस्तानका सरकारी निकायहरूलाई निर्देशन दिँदै आधिकारिक सूचना जारी गर्नु धार्मिक शब्दावलीमा बेरिएको सरकार–प्रायोजित गलत सूचना र दुष्प्रचार बाहेक केही होइन,” उनले भने ।
यो पाकिस्तानको ‘डिप स्टेट’बाट सञ्चालित घृणाको एक संगठित कारखानाको परिणाम भएको उनको टिप्पणी छ । यसको उद्देश्य आफ्ना नागरिकलाई भारतप्रति स्थायी शत्रुताको अवस्थामा राख्नु रहेको हरिशको भनाइ छ ।
सन् २०२५ मा पाकिस्तान सरकारले बलोचिस्तान प्रान्तमा सक्रिय सबै ‘आतंककारी’ तथा उग्रवादी समूहहरूलाई आधिकारिक रूपमा ‘फितना अल–हिन्दुस्तान’ घोषणा गरेको थियो ।
यसका साथै भारतले अफगानिस्तानविरुद्ध पाकिस्तानले सञ्चालन गरेको सैन्य हवाई अभियानको पनि आलोचना गरेको छ ।
“कुनै नरसंहारलाई सैन्य अभियानको रूप दिँदैमा अपराधीको दोष समाप्त हुँदैन,” हरिशले भने, “सर्वसाधारण नागरिकको हत्या गर्नु, उनीहरूलाई अंगभंग बनाउनु र बालबालिकाहरूलाई अनाथ बनाउनु आतंकवादविरुद्धको कारबाही होइन ।”
प्राप्त विवरणअनुसार यस वर्षको पहिलो तीन महिनामा मात्रै अफगानिस्तानमा करिब ४०० जनाको मृत्यु भएको छ । डीडब्ल्यू
#बलोचिस्तान
#फितना अल–हिन्दुस्तान
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ