मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

'श्रम बजारका चुनौती समाधानका लागि  त्रिपक्षीय सहकार्य आवश्यक'

corporatenepal.com · Wed Jun 10 03:04:59 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारमा देखिएका वर्तमान चुनौतीहरूको प्रभावकारी समाधानका लागि नीतिगत लचकता, उद्यमको उत्पादकत्व वृद्धि तथा सरकार, रोजगारदाता र श्रमिकबीचको त्रिपक्षीय सहकार्यलाई सुदृढ बनाउनुपर्ने बताएका छन्। स्विट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ११४औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपाल रोजगारदाता परिषद्को तर्फबाट सम्बोधन गर्दै उनले बदलिँदो आर्थिक तथा श्रम परिवेशअनुसार व्यावहारिक नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याए।

उपाध्यक्ष पाण्डेले नेपाल अहिले आर्थिक संक्रमणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै सुशासन, लगानी प्रवर्द्धन र पूर्वाधार विकासमा सरकारको प्रयास सकारात्मक भए पनि सुस्त आर्थिक गतिविधि, सीमित औद्योगिक विस्तार तथा बढ्दो व्यावसायिक लागतले निजी क्षेत्रलाई चुनौती दिइरहेको बताए । उनले रोजगारीको खोजीमा ठूलो संख्यामा नेपाली युवा विदेशिने क्रम जारी रहनु चिन्ताजनक रहेको उल्लेख गर्दै स्वदेशमै सम्मानजनक तथा उत्पादनमूलक रोजगारी सिर्जना गर्न लगानीमैत्री वातावरण, सीप विकास र शिक्षालाई श्रम बजारको आवश्यकता अनुरूप रूपान्तरण गर्नुपर्ने धारणा राखे।

Advertisement

डिजिटल अर्थतन्त्रको विस्तारसँगै नेपालमा अनलाइन व्यापार, राइड–सेयरिङ तथा डेलिभरी सेवामा युवाको आकर्षण बढ्दै गएको बताउँदै उनले यसले नयाँ उद्यमशील अवसरहरू सिर्जना गरे पनि श्रम अधिकार, सामाजिक सुरक्षा र नियमनसम्बन्धी नयाँ चुनौतीहरू समेत थपिएको बताए । पाण्डेले विकासशील मुलुकहरूको वास्तविक अवस्था, संस्थागत क्षमता र आर्थिक परिस्थितिलाई ध्यानमा राखेर श्रम सुधारका नीति लागू गर्नुपर्नेमा जोड दिए। उनका अनुसार विश्वव्यापी मापदण्ड लागू गर्दा प्रत्येक देशको विशिष्टता र आवश्यकता अनुरूप लचकता आवश्यक हुन्छ।

सम्बोधनका क्रममा उनले नेपालका रोजगारदाताहरूले सुरक्षित र स्वस्थ कार्यस्थल निर्माणलाई उच्च प्राथमिकता दिएको जानकारी दिए। राष्ट्रिय व्यावसायिक सुरक्षा तथा स्वास्थ्य कार्ययोजना कार्यान्वयनसँगै कार्यस्थल सुरक्षा केवल सामाजिक जिम्मेवारी नभई उत्पादकत्व, दिगोपन र प्रतिस्पर्धात्मकताको आधार बनेको उनले बताए। चिया तथा अलैंची उत्पादन क्षेत्रका लागि विशेष सुरक्षा निर्देशिका तयार गरी प्रारम्भिक चरणका कार्यक्रम सुरु भइसकेको जानकारी दिँदै उनले महासंघले विभिन्न उद्योगमा ‘केयर मोडल’ पाइलट परियोजना सञ्चालन गरिरहेको बताए। उक्त कार्यक्रमले विशेषगरी महिला रोजगारी प्रवर्द्धन, सामाजिक समावेशीकरण तथा सामुदायिक कल्याणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

जलवायु परिवर्तनका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्ले उद्योग, कृषि र जीविकोपार्जनमा गम्भीर असर पुर्‍याइरहेको उल्लेख गर्दै उनले हरित रोजगारीको प्रवर्द्धन तथा जलवायु जोखिममा रहेका मुलुकलाई प्राविधिक सहयोग उपलब्ध गराउने विषयलाई विश्वव्यापी श्रम बहसको महत्वपूर्ण एजेन्डा बनाउन आग्रह गरे।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)