गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसले गर्यो संसद् अवरुद्ध
nayapatrikadaily.com · Sat Mar 16 00:19:00 GMT 2024
प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा बोल्दै कांग्रेस सांसदहरूले सहकारी अनियमितता प्रकरणमा मुछिएर अनुसन्धानको दायरामा रहेका लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिनु स्वार्थको द्वन्द्व हुने भन्दै राजीनामाको माग गरेका हुन् ।
सांसद प्रदीप पौडेलले प्रश्न र अनुसन्धानको घेरामा रहेका गृहमन्त्रीले नैतिकता देखाएर राजीनामा दिनुपर्ने बताए । ‘आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहुँदैनथ्यो । प्रधानमन्त्रीले प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो, अनुसन्धानको घेरामा रहेका व्यक्तिलाई अनुसन्धानकै नेतृत्व गर्ने थलोको जिम्मेवारी दिनु उचित होइन,’ उनले भने, ‘गृहमन्त्रीज्यूलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्न अनुरोध गर्दछु ।’ अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा हुँदा सहकारीपीडितको माग सम्बोधनको आशा गर्न नसकिने उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)