मन्त्रिपरिषद्लाई तत्काल पूर्णता देऊ
rajdhanidaily.com · Thu Jul 29 23:33:08 GMT 2021
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेको झन्डै तीन साता बित्नै लाग्दा पनि सरकारले पूर्णता पाउन नसकेपछि सरकारप्रतिको चासो र आकर्षणमा उल्टै विकर्षण आउन थालेको छ । सुरुमै गठबन्धनको गाँठो घाँटीमा परेपछि यसले प्रम देउवालाई निकै सकसमा पारेको देखिन्छ । यही कारणले गर्दा सरकारले गर्ने भनी जाहेर गरेको प्रतिबद्धताप्रतिको जनआकर्षणमा पनि कमी आउन थालेको छ । तत्कालीन प्रतिपक्षी गठबन्धनमा बढ्दै गरेको असन्तुष्टि र हानथापका कारण मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस परेको भनिए पनि यसको समाधानका लागि सरकारमा सहभागी दलहरू सामूहिक वार्ता र निकासका लागि संवेदनशील भएर बसेको देखिँदैन । यसले कतै सरकार निर्माण र परिचालनमा समस्या त ल्याउने होइन भन्ने आशंकासमेत उब्जाएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि भनेर सत्तासाझेदार दलबीचमा खासखास बेलामा छलफल भएको देखिए पनि परिणाम भने निस्कन सकेको छैन । यसले अघिल्लो सरकारले बेहोरेको कचिंगल जस्ताको तस्तै बेहोर्ने त होइन भन्ने गम्भीर टीकाटिप्पणीको सुरुवात पनि गराएको छ । जसलाई निकै दुःखद् मान्नुपर्छ ।
सरकारमा सहभागी दलका आआफ्नै मत र आकार छन् । ती आकार जनताले बनाइदिएका हुन् । ती सबै मत र आकार मिलेर अहिले सहज बहुमतको सरकार बन्न गएको छ । सरकारको भागबन्डा यसैका आधारमा गरे हुन्छ । सरकार निर्माणमा हरेक पार्टीका आन्तरिक किचलो बोकेर आउने र चौतारीमा हँसीमजाक गरेझैं आआफ्नो पीडा पोखेर फर्कने गर्ने परिपाटी रहँदासम्म देशले निकास पाउँदैन । देश समस्यामा छ । महामारीको पीडा र भोगाइ छ । विकास निर्माणका काम असरल्ल छन् । प्रणाली सञ्चालनको परिपाटीमा सुधार आउन सकेको छैन । विभिन्न साना दलहरूबाट संघीय प्रणाली खारेजीका कुरा आउन थालेका छन् । यो राम्रो संकेत होइन । प्रणाली रक्षाका लागि कसले पहल लिने र उठी बस्ने भन्ने प्रश्न आउन थालेको छ । तर, राज्य सञ्चालक भने यसमा त्यति चिन्तित भएको देखिँदैनन् । ‘जे भएको छ भइरहोस्’ भनेर राज्यलाई गोदामका रूपमा लिन थालियो भने कसलाई राज्य सञ्चालक भन्ने ? राज्यको वास्तविक कार्यकारी बोडी को हुने ? कसले धान्ने देश र जनता ?
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)