मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भेनेजुएली अधिकारी अलेक्स साब अमेरिका डिपोर्ट

ratopati.com · Sun May 17 09:37:17 GMT 2026

कारकास । भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मदुरोका निकट सहयोगी अलेक्स साबलाई अमेरिकामा निर्वासित गरिएको छ । भेनेजुएलाको आप्रवासन निकाय एसएआईएमईले शनिबार यसको पुष्टि गरेको हो । कोलम्बियामा जन्मिएका ५४ वर्षीय साबलाई गत फेब्रुअरीमा कराकासमा अमेरिकी र भेनेजुएली अधिकारीहरूको संयुक्त कारबाहीमा पक्राउ गरिएको थियो ।

उनको गिरफ्तारी पूर्व राष्ट्रपति मादुरोलाई अमेरिकी विशेष बलले पक्राउ गरेको एक महिनापछि भएको थियो । विश्लेषकहरूका अनुसार यसले कार्यवाहक राष्ट्रपति डेल्सी रोद्रिगेजको नेतृत्वमा अमेरिकी र भेनेजुएली सुरक्षा निकायबीच नयाँ स्तरको सहकार्य देखाएको छ । साब यसअघि सन् २०२० मा केप भद्रेमा पक्राउ परेका थिए र पछि अमेरिकामा घुससम्बन्धी आरोपमा हिरासतमा राखिएका थिए । उनलाई सन् २०२३ मा भेनेजुएलामा थुनिएका अमेरिकी नागरिकहरूको रिहाइको बदलामा क्षमादान दिइएको थियो ।

स्रोतहरूका अनुसार साबले अमेरिकी अधिकारीहरूलाई मादुरोविरुद्धको आपराधिक मुद्दा बलियो बनाउन उपयोगी जानकारी दिन सक्ने अनुमान गरिएको छ । मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई यसअघि नै न्यूयोर्क लगेर नार्को–टेररिज्म षड्यन्त्रलगायत आरोपमा मुद्दा चलाइएको छ । उनीहरूले ती आरोप अस्वीकार गरेका छन् । साब केही वर्ष इटलीमा पनि बसेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)