केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा
gorkhapatraonline.com · Sun Oct 25 23:54:47 GMT 2026

बहुचर्चित केरुङ–काठमाडौँ रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन (फिजिविलिटी स्टडी रिपोर्ट) पूरा भएको छ । नेपाल रेलवे बोर्डका प्रशासक हरिकुमार पोखरेलले नेपाल र चीनबिचको मित्रताको ‘प्रतीक’ का रूपमा लिइएको सो रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको जानकारी दिनुभयो ।
सम्भाव्यता अध्ययन प्रतिवेदन तयार हुनु सो परियोजनाका लागि ठुलो उपलब्धि भएको उहाँले बताउनुभयो । उहाँका अनुसार चिनियाँ पक्षले अनुदान सहयोगमा सो अध्ययन प्रतिवेदन तयार गरेको हो । ४२ महिना लगाएर तयार गरिएको सो प्रतिवेदनमा नेपाली पक्षको समेत सुझाव समावेश गरिएको छ । उक्त परियोजनाको सम्बन्धमा छलफल गर्न तिहारअघि नै नेपाली र चिनियाँ पक्षको संयुक्त बैठक काठमाडौँमा बस्ने बताउँदै प्रशासक पोखरेलले बैठकमा चिनियाँ पक्षले सो अध्ययन प्रतिवेदन प्रस्तुत गर्ने, प्रतिवेदनमाथि छलफल हुने र चिनियाँ पक्षले सो प्रतिवेदन नेपाललाई हस्तान्तरण गर्ने जानकारी दिनुभयो । त्यसै गरी बैठकमा रेलमार्गको सम्भावित लागत, प्राविधिक पक्ष तथा निर्माणको ढाँचाबारे समेत छलफल गरिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)