मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आर्थिक अभावमा सडक पुगेका आमा–छोराको उद्धार

gorkhapatraonline.com · Wed Jun 10 05:46:38 GMT 2026

आर्थिक अभावको पीडा यति गहिरो हुन्छ कि दुई महिना अघि एक महिला आफ्ना तीन छोरासहित मुगुको घर छोडेर जुम्ला बजार आइपुग्नुभयो। जुम्लामा कहिले आफन्तको घर त कहिले सहयोग माग्दै जीवनयापन गर्न बाध्य भएको दर्दनाक अवस्था सडकसम्म आइपुगेको छ।

मुगु छायानाथ रारा नगरपालिका–११ रोवा गाउँ निवासी जस्कर दमाईकी श्रीमती सरस्वती परियार आफ्ना १८ वर्षीय छोरा विशाल परियार, ५ वर्षीय अनिल परियार र ३ वर्षीय छोरा विकाससहित पेट पाल्नकै लागि घर छोडेर हिँड्नुभएको हो। बिच बाटोमै जुम्लातर्फ मोडिनुभएको उहाँ दुई महिनादेखि जुम्लामा बस्दै आउनुभएको थियो।

बस्ने र खाने कुनै व्यवस्था नभएपछि सोमबार उहाँहरू चन्दननाथ नगरपालिका–४ स्थित भारतीबाडामा एक कोठामा आश्रय लिएर बस्नुभएको थियो। घरधनीलाई भाडा तिर्छु भनेर कोठा लिए पनि सरस्वती र उहाँका तीन छोरासँग बेलुकी खाने चामलसमेत नभएको अवस्था थियो। छिमेकीहरूको सहयोगमा हिजो बेलुकी र बिहानको खाना व्यवस्थापन गरिएको उहाँले बताउनुभयो। सरस्वतीका अनुसार श्रीमान् कारागारमा हुनुहुन्छ।

आर्थिक अभावका कारण सडकमा पुगेका मुगुका आमा–छोराको जुम्लामा अल्पकालीन उद्धार गरिएको छ। खाने–बस्ने व्यवस्था नभई सडकमा सहयोग मागिरहेको अवस्थामा देखिएपछि सरोकारवालाको बैठकले उनीहरूको उद्धार गर्ने निर्णय गरेको हो।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा बसेको बैठकमा जिल्ला प्रशासन कार्यालय, जिल्ला कारागार, चन्दननाथ नगरपालिका शिक्षा शाखा, नेपाल रेडक्रस, चन्दननाथ सहकारी, सर्वोदय नेपाल, दिमा आमाघर तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

बैठकले सरस्वती र उनका तीन छोरालाई तत्कालका लागि दिमा आमाघरमा आश्रयको व्यवस्था गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलका अनुसार उनीहरूलाई तत्कालका लागि दिमा आमाघरमा राखिएको छ भने दीर्घकालीन पुनःस्थापनाका लागि मुगु जिल्ला प्रशासन र छायानाथ रारा नगरपालिकासँग समन्वय तथा पत्राचार गरिएको छ।

यसअघि उनीहरू कालेखोली क्षेत्रमा २–३ दिन चाउचाउ खाएर बसेको बताइएको छ। सरस्वतीका अनुसार श्रीमान् कारागारमा रहेका छन्। पहिलो श्रीमतीतर्फका पाँच र आफ्नो दुई गरी सात सन्तान रहेको पनि उहाँले बताउनुभयो। दिमा आमाघरमा आश्रय पाएपछि सरस्वतीले खुसी व्यक्त गर्दै लामो समयपछि राम्रोसँग खान र सुत्न पाएको बताउनुभयो।

चन्दननाथ सहकारीका अध्यक्ष विष्णुमाया बुढाले सरस्वतीको स्वरोजगारका लागि सहकारी सकारात्मक रहेको बताउनुभयो। दिमा आमाघर जुम्लाका अध्यक्ष दिलमाया शाहीले मानवीय सहयोगका लागि जिल्ला स्तरबाट भएको निर्णयअनुसार आश्रय दिन पाउँदा खुसी लागेको बताउनुभयो।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले तत्काल आमा–छोराको उद्धार गरिएको जानकारी दिनुभयो। दिमा आमाघरले एक वर्षमा झण्डै दुई दर्जनभन्दा बढी महिला तथा बालबालिकालाई आश्रय दिइसकेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)