मुसिकोटमा १०५ महिलाको स्तन र पाठेघर परीक्षण
gorkhapatraonline.com · Wed Jun 10 05:54:51 GMT 2026

स्वास्थ्य कार्यालय गुल्मी र मुसिकोट नगरपालिकाको आयोजनामा सञ्चालित प्रजनन स्वास्थ्य रुग्णताको एकीकृत पहिचान तथा व्यवस्थापन शिविर मा १०५ जना महिलाको स्तन तथा पाठेघरको परीक्षण गरिएको छ।
वडागाउँ स्वास्थ्यचौकीमा आयोजित शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर परीक्षण, पाठेघर खस्ने समस्याको पहिचान तथा उपचार, प्रसूति फिस्टुलाको पहिचान तथा उपचार, प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा तथा निःशुल्क औषधी वितरण गरिएको थियो।
शिविरमा पाँच जनामा क्यान्सरको शङ्का देखिएकाले थर्मोकोगुलेसन गरी थप उपचारका लागि प्रेषण गरिएको तथा सात जनाको पाठेघर खस्ने समस्याको उपचार गरिएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक पुष्कर गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार जेठ २८ गते पौदी अमराई स्वास्थ्यचौकी र २९ गते कुर्घा स्वास्थ्यचौकीमा पनि यस्तै शिविर सञ्चालन गरिनेछ।
मुसिकोट नगरपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। नगरपालिकामा सात स्वास्थ्यचौकी, दुई आधारभूत स्वास्थ्य केन्द्र, दुई सामुदायिक स्वास्थ्य केन्द्र र तीन शहरी स्वास्थ्य केन्द्र गरी १४ वटा स्वास्थ्य संस्था रहेका छन्। तीमध्ये १० वटा संस्थाको आफ्नै भवन छ।
ती भवनमध्ये छ वटा नेपाल सरकारको मापदण्डअनुसार निर्माण भएका छन्। नगरपालिकामा आठ वटा बर्थिङ सेन्टर सञ्चालनमा छन्।
कृष्णहरी–रुद्रावती आँखा उपचार केन्द्रमा जनशक्ति व्यवस्थापन गरी विद्यार्थीहरूको नियमित दृष्टि परीक्षण गर्ने गरिएको तथा नगरभित्र क्षयरोगमुक्त अभियान सञ्चालन भइरहेको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालले बताउनुभयो।
उहाँका अनुसार नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरिएको छ। साथै सुत्केरी पोषण खर्च, गर्भवती पोषण खर्च तथा निःशुल्क एम्बुलेन्स सेवाजस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं