मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लिमीमा पुगेन अनुदानको खाद्यान्न

gorkhapatraonline.com · Mon Oct 26 03:53:31 GMT 2026

हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन बस्तीमा खाद्यान्न अभाव भएको छ । लिमीका तिल, हल्जी र जाङ बस्तीका स्थानीयले एक वर्षदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न पाएका छैनन् । लिमीको हल्जीगाउँका खाद्यको बिक्री केन्द्र भए पनि त्यहाँ हालसम्म खाद्यान्न नपुगेका कारण स्थानीयले खाद्यान्न पाउन नसकेका हुन् ।

एक वर्षदेखि खाद्यको ढुवानी अनुदानको खाद्यान्न लिमीमा पुग्न नसकेको वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । एक वर्षसम्म खाद्यान्न नपुगेपछि लिमीमा खाद्यान्न समस्या सुरु भएको उहाँको भनाइ छ । गत साउनमा लिमीको बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यान्न लिन खोजिएको भए पनि त्यो सम्भव नभएको उहाँले बताउनुभयो । लिमीको खाद्यान्न नाम्खा गाउँपालिका केन्द्र याल्वाङमा पुगेको छ तर गत असोज १० र ११ गतेको हिमपातले लिमी प्रवेश गर्ने नाका न्यालु लेकको सडकमा हिउँ जमेका कारण हिउँ नपन्छाएसम्म खाद्यान्न ढुवानी गर्न सम्भव भएन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)