ओली र प्रचण्डको वार्ता डोनाल्ड ट्रम्प र सी चिनफिङको जस्तो
annapurnapost.com · Fri Aug 14 21:36:00 UTC 2020
गोरखा : नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को वार्ता हुने भनेको डोनाल्ड ट्रम्प र सी चिनफिङको वार्ता हुने जस्तो रहेको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आरोप लगाएका छन्।
गृहजिल्ला गोरखा पुगेका जनता समाजवादी पार्टीका वरिष्ठ नेतासमेत रहेका भट्टराईले शुक्रबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कोरोना महामारी व्यवस्थापन गर्नुपर्ने बेला सत्तासीन पार्टीका दुई नेताको भेटघाट र वार्ता नै दुर्लभ हुने गरेको टिप्पणी गरे।
‘हामीले यस्ता नेता छानेका छौं, जुन नेता यस्तो कोरोनाको बेलामा आफ्नै पार्टीभित्रको झगडामा रुमल्लिरहेका छन्’, उनले भने, ‘उहाँहरुको झगडा महिनौँसम्म चलिरहन्छ। केपी र प्रचण्डको वार्ता हुनु भनेको चाहिँ डोनाल्ड ट्रम्प र सी चिनफिङको वार्ता भए जस्तो, नरेन्द्र मोदी र केपी ओलीको वार्ता हुनु जस्तो गरेर कहिले वार्ता हुन्छ होला भनेर पर्खेर बस्नु पर्छ।’
कोरोना परीक्षणको दायरा बढाउनु पर्ने, स्वास्थ्य उपकरण जुटाउने, दातृ निकाय खोज्ने, राहतको व्यवस्था गर्नुपर्ने बेलामा सरकार मजाक गरेर बसेको उनको आरोप छ।
‘अहिले कोरोना महामारीको समाधान खोज्ने बेला हो कि अयोध्याखोज्ने बेला हो ? राममन्दिर बनाउने बेला हो कि अस्पताल बनाउने बेला हो ?’, उनले भने, ‘हुन त उहाँहरुलाई सुझाव दिनु भनेको भालुलाई पुराण सुनाए जस्तो हो। यसको कुनै अर्थ छैन।’ अहिले सरकारबिहिनताको अवस्था रहेको उनको टिप्पणी छ।
‘जहिलेसम्म केपी ओली जस्ता मान्छे सत्तामा रहन्छन्, कुनै स्पष्ट नीतिबिना लहडको भरमा देश चलिरहन्छ’, उनले भने, ‘सुझबुझ, स्पष्ट नीति, शृङ्खलाबद्ध योजना केही पनि छैन। यस्तो मान्छे प्रधानमन्त्री रहेसम्म देशले दुःख मात्र पाउनेवाला छ।’ यसलाई नेकपाको आन्तरिक मामिला हो भनेर सहेर बस्ने अवस्था नरहेको भन्दै उनले नेतृत्व परिवर्तनका लागि जनस्तरबाट आवाज उठाउनु पर्ने बेल ाआएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)