अमेरिकी बजारमा मूल्य कम गर्न प्रतिस्पर्धा
livemandu.com · Sat Oct 24 17:48:50 UTC 2020
सामान्य व्यापारिक प्रचलन अनुसार चर्को मूल्य कायम गरेर छोटो समयमा नै व्यापारीहरूले बढी मुनाफा हात पार्ने उद्देश्य राखेका हुन्छन्। यसका लागि वस्तु वा सेवाको मूल्य चर्को राख्ने प्रयास गर्छन्। बजारमा आपूर्तिकर्ताको सङ्ख्या धेरै नभएर बिक्री गर्न तीव्र प्रतिस्पर्धा नहुँदा उनीहरूले निर्धारण गरेको चर्को मूल्यको प्रतिस्पर्धा गर्दै अन्य आपूर्तिकर्ताहरू कम मूल्य निर्धारण गरेर बजारमा आउन सक्तैनन, बरु त्यसरी कायम हुन गएको चर्को मूल्यको अनुसरण बाँकी अन्य आपूर्तिकर्ताले पनि गर्छन् र वस्तु एवं सेवाको मूल्य चर्को पार्छन्। बजारमा आपूर्तिकर्ताको सङ्ख्या कम भएको र उनीहरूलाई चुनौती दिन सक्ने क्षमता क्रेता वा उपभोक्ताहरूमा नभएकोले क्रेताहरू चर्को मूल्यमा वस्तु एवं सेवा खरीद गर्न बाध्य हुन्छन्। यस किसिमको अवस्था दक्षिण एशियाका बजारहरूमा प्रचुर मात्रामा देख्न पाइन्छ। मूल्य निर्धारण सम्बन्धमा व्यापारीहरूले गर्ने यस्तो अभ्यास नेपालमा त झनै बढी देख्न पाइन्छ। मूल्य निर्धारणसम्बन्धी यस्तो रणनीति दक्षिण एशियामा निकै प्रचलित छ। र उपभोक्ताहरू ठगिएका छन्। यो परम्परागतरूपमा आएको व्यापारिक समस्या पनि हो।
आपूर्तिकर्ताहरूको सङ्ख्या धेरै नभएर र उनीहरूले कायम गर्ने जस्तोसुकै चर्को मूल्य पनि क्रेता एवं उपभोक्ताहरूद्वारा स्वीकार्य हुने भएकोले नेपालमा उत्पादक एवं आपूर्तिकर्ता (विक्रेता)ले आफ्नो वस्तु एवं सेवाको मूल्य कम पार्ने वा आफ्नो वस्तु वा सेवाको मूल्य कम आय भएका उपभोक्ताहरूको क्रयशक्ति अनुसार बनाउने प्रयास कहिले गर्दैनन्। मूल्य निर्धारणसम्बन्धी यो परम्परागत धारणा हो र मूल्य निर्धारण गर्ने प्राचीन तरीका पनि। यस धारणा अन्तर्गत छोटो समयमा धेरै मुनाफा गरेर बढी आर्जन गर्ने उद्देश्य निहित हुन्छ भने उपभोक्ताको क्रयशक्तिको पूर्ण बेवास्ता गरिएको हुन्छ। उपभोक्ताहरूलाई ‘चुस्ने’ उद्देश्य राखिएको हुन्छ। यसले गर्दा दक्षिण एशिया, खासगरी नेपालमा, उत्पादक एवं आपूर्तिकर्ताहरूले आफ्ना वस्तु एवं सेवाको मूल्य कसरी कम पार्ने सम्बन्धमा न कुनै उपायको खोजी गर्छन्, न विशेष किसिमको अध्ययन एवं अनुसन्धान नै गर्छन्। यसले गर्दा पनि नेपालमा उपभोक्ताहरू जहिले पनि मूल्यवृद्धिको भारले थिचिएका हुन्छन्। त्यस कारण मूल्य निर्धारण सम्बन्धी यो धारणा उपभोक्ताहरूको हित प्रतिकूल छ। अज्ञानताले गर्दा पनि आपूर्तिकर्ता (उत्पादक एवं विक्रेता)हरूले आफूले बिक्री गर्ने वस्तु वा सेवाको मूल्य कम पार्ने प्रयास गर्दैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)