‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौं महानगर
nagariknews.nagariknetwork.com · Wed Jun 10 07:04:28 GMT 2026

चलचित्रका पेसाकर्मीलाई समुदायसँग जोड्ने र समुदायका तर्फबाट सम्मान गर्ने कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाले ‘टोलटोलमा फिल्म महोत्सव’ गर्ने भएको छ।
सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले ‘टोलटोलमा फिल्म महोत्सव’ कार्यक्रमले चलचित्र क्षेत्रका सबै विधालाई समुदायसँग जोड्ने बताए।
कामनपाको सम्पदा तथा पर्यटन विभागले कार्यान्वयनमा ल्याउन लागेको ‘टोलटोलमा फिल्म फेस्टिभल’ कार्यक्रमको अपेक्षित नतिजाका विषयमा कुरा गर्दै उनले फिल्म क्षेत्रलाई सम्मानित पेसाका रूपमा समुदायमा परिचित गराउनु पर्ने बताए।
समुदायस्तरमा फिल्म महोत्सवका कार्यक्रम सञ्चालन व्यवस्थापन गर्न कामनपाले सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा आबद्ध गैरनाफामूलक सङ्घसंस्था, युथ क्लब, सामुदायिक संस्था, टोल विकास समिति, सांस्कृतिक समूह, पुचःलाई जिम्मेवारी दिने निर्णय गरेको छ।
फिल्म देखाइने स्थानहरू परम्परागत टोल, वहाः, वही, चोक, ननी, एम्पीथिएटर, पार्कजस्ता खुला स्थान हुनेछन्। यस प्रयोजनका लागि कामनपाले खुला प्रस्ताव आह्वान गरेको छ।
जेठ २७ गते राति १२ः०० बजे अगाडि इच्छुकले कामनपाको वेबसाइटमा दिइएको ठेगानाबाट प्रस्ताव दिन सक्नेछन्।
समुदायस्तरको कार्यक्रम भएकाले व्यवस्थापनमा सहकार्य गर्न इच्छुक सङ्घसंस्थालाई प्रस्ताव पेस गर्न विभागका प्रमुख कुमारी राईले आग्रह गरे।
चलचित्रको गुणस्तर, विषयवस्तु, प्रस्तुतिकरणजस्ता विषय छनोट गर्न, कार्यक्रमलाई उद्देश्यमूलक बनाउने उद्देश्यले निगरानी, नियमन तथा नियन्त्रण गर्न सङ्गतको संयोजकत्वमा समिति गठन भएको छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
काठमाडौँ