केरुङ–काठमाडौँ रेलमार्ग
gorkhapatraonline.com · Tue Oct 27 03:16:52 GMT 2026

आधुनिक यातायातका साधनमध्ये रेलको महत्व अधिक रहेको छ । एकै पटक धेरै मानिस र सरसामान ओसारपसार गर्न सक्ने रेलले समयको तीव्रतर गतिको प्रतिनिधित्व गरिरहेको हुन्छ । विश्वका ठुला सहरमा के कस्ता सवारीसाधनको व्यवस्था गरिएको छ भन्ने विमर्शमा पनि रेल पूर्वाधार नै प्राथमिकतामा रहन्छ । नेपाल जस्ता भूपरिवेष्टित मुलुकका निम्ति अन्तरदेशीय रेलमार्गको ठुलो महत्व रहने विषयमा दुईमत हुँदैन । विश्वका दुई ठुला अर्थतन्त्र भएका चीन र भारतका बिचमा रहेको नेपालका निम्ति दुवै देशबाट रेलसेवाले राजधानी जोड्नु आधुनिक पूर्वाधारको आधारभूत प्राथमिकतासँगै काठमाडौँ अन्तरदेशीय व्यापारिक केन्द्रमा पर्न सक्ने छ । विद्युत् उत्पादन क्रमशः विस्तार गर्न थालेको नेपालले उत्पादित स्वच्छ ऊर्जालाई देशकै विकासमा खपत गर्नका निम्ति पनि रेल पूर्वाधार अति आवश्यक भइसकेको छ । यसै सन्दर्भमा केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन पूरा भएको छ । यो प्रस्तावित रेलमार्गको चर्चालाई गत भदौमा गएको भोटेकोशी हिमबाढीले ओझेलमा पार्ने जोखिम रहेको थियो तर त्यो जोखिमसमेतलाई प्रतिनिधित्व गर्दै अध्ययन प्रतिवदेन तयार भएको बताइएको छ । चीनको केरुङ नाकालाई राजधानी काठमाडौँसँग जोड्ने रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन पूरा भएसँगै नवीन आशा पलाएको छ । चीनका राष्ट्रपति सी चिनफिङको २०७६ असोज २५ र २६ गते भएको नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा यस रेलमार्गको अध्ययनका लागि दुई मुलुकबिच समझदारीपत्रमा हस्ताक्षर अनुरूप यो अध्ययन पूरा भएको स्मरणीय छ ।
नयाँ युगमा नेपाल र चीनबिचको अर्थतन्त्र र सम्पर्कलाई सघन बनाउने प्रस्तावित रेलगमार्गलाई दुवै देशको मित्रताको ‘प्रतीक’ का रूपमा पनि लिइने छ । चीन सरकारको अनुदान सहयोगमा ४२ महिना लगाएर यो अध्ययन पूरा भएको हो । त्यसअघि पूर्वसम्भाव्यता अध्ययनले परियोजना सम्भव रहेको स्पष्ट गरिसकेको छ । नयाँ अध्ययन प्रतिवेदनमा नेपाली पक्षको समेत सुझाव समावेश गरिएको छ । अध्ययन प्रतिवेदन अनुसार प्रस्तावित रेलमार्गको ९८ प्रतिशत खण्डमा सुरुङ र उच्च पुल (हाइब्रिज) रहने छन् । हिमाली भूगोलको जटिलता र वातावरणीय संवेदनशीलतालाई ध्यानमा राख्दै यसमा बाँकी खण्ड पुल तथा केही खुला ‘एलाइनमेन्ट’ मा आधारित हुने छ । गत भदौको भोटेकोशी विनाशकारी हिमबाढीका कारण रसुवागढी नाका र त्यस आसपासका सडक सञ्जाल, विद्युत् पूर्वाधार र बस्तीमा भयानक क्षति पुगेको सन्दर्भमा यो परियोजनाको चुनौती पनि बढेको छ । भोटेकोशी हिमबाढीले रेलमार्गको केरुङनजिकै पर्ने सम्भावित सुरुवाती विन्दु (एलाइनमेन्ट) मा पार्न सक्ने प्राविधिक जोखिमबारे पनि अध्ययनले नयाँ बहस सिर्जना गरेको छ । परियोजनाको प्रारम्भिक आकलन अनुसार निर्माण लागत करिब दुई खर्ब ५७ अर्ब रुपियाँ अनुमान गरिएको छ । हिमाली क्षेत्रको अत्यन्तै जटिल र कठिन भौगोलिक बनावटका कारण यस परियोजनाको लागत प्रतिकिलोमिटर करिब तीन अर्ब ५५ करोड रुपियाँ पर्न जाने अनुमान गरिएको छ । भोटेकोशी बाढीले उत्पन्न गराएका प्राविधिक प्रश्न, सुरक्षाका उपाय र जोखिम न्यूनीकरणका रणनीतिलाई सम्बोधन गर्ने क्रममा लागत थप बढ्न पनि सक्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)