दसैँ मनाएर फेरि कालापहाडतिरै
gorkhapatraonline.com · Tue Oct 27 03:56:41 GMT 2026

दैलेखको दुल्लु नगरपालिका–१० का धर्म नेपाली दसैँ मनाउन घर आउनुभयो । उहाँ आफू मात्र होइन उहाँको परिवारसहित १२ जना आफन्त पनि सँगै ल्याउनुभयो । सपरिवार घरसम्म पुग्न करिब ५० हजार खर्च भयो । दसैँ मनाउन आउनुभएका उहाँ केही दिन मात्र गाउँमा बसेर फेरि भारततिरै फर्किनुभएको छ । उहाँ भन्नुहुन्छ, “दसैँ मनाउँदा कमाएको रकम सकिगो । परिवार पाल्न फेरि उही कालापहाड (भारत) त जानै पर्छ ।” दुःख गरेर कमाएको अलिकति पैसा लिएर उहाँ बर्सेनि दसैँतिहार मनाउन घर फर्किनुहुन्छ । उहाँका लागि घर परदेश जस्तो र परदेश घर जस्तो भइरहेको छ । उहाँले आफूसँगै परिवार पनि भारतमै लैजाने गर्नुभएको छ । जसले गर्दा छोराछोरीको पढाइसमेत छुटेको छ । सानै उमेरमा छोरीको विवाह भइसकेको छ भने छोरो उहाँसँगै काम गर्नुहुन्छ । आर्थिक अवस्था कमजोर भएकै कारण छोराछारीलाई शिक्षादीक्षा दिन नसकेको दुःखेसोसमेत पोख्नुभयो ।
दैलेखकै नारायण नगरपालिका–१ का रविन थापा पनि दसैँ मनाउन केही दिनअघि गाउँ फर्किनुभयो । उहाँले पनि गाउँमा १० दिन बिताउन पाउनुभएन । रोजगारीका लागि पुनः भारत लाग्नुभएको छ । आफ्नै ठाउँमा पर्याप्त रोजगारी, उद्योग र आर्थिक उपार्जनका माध्यम नहुँदा भारत आवतजावत गरिरहनु परेको रविनले सुनाउनुभयो । रहरले नेपाल आए पनि बाध्यताले पुनः भारत नै फर्कनु परेको उहाँको दुःखेसो छ । स्थानीय सरकार गाउँ गाउँमा भए पनि आफ्नै ठाउँमा रोजगारीको कुनै सम्भावना नदेखेका कारण कालापहाड जान बाध्य भएको सुर्खेत बसपार्कमा भेटिनुभएका रामबहादुर विकले बताउनुभयो । पेट पाल्नकै लागि परदेशको बाटो रोज्नुको विकल्प नभएको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)