वनफूलले ढाकिएका पाटन हेर्ने केरी र बुकीमा पर्यटक
deshsanchar.com · Wed Jul 23 17:45:20 GMT 2025

गण्डकी –काठमाडौँ बस्ने दीपा पौडेलले यसपालि मनसुन पदयात्राका लागि कास्कीको कोरी रोजे। पेसाले स्टाफ नर्स उनी गएको मध्य असारमा साथीहरुसित तीन हजार ८०० मिटर उचाइको कोरी पुगे। पदयात्रामा उनीसहित सात जना थिए। पोखराबाट मादी गाउँपालिका–१ सिक्लेससम्म तीन घण्टाको मोटरयात्रापछि उनीहरु छ घण्टा हिँडेर तस पुगे। त्यस दिन तसमै रात काटे। भोलिपल्ट त्यहाँबाट पैदल सात घण्टामा कोरी पुगे। कोरीको सौन्दर्यबारे देखे सुनेर लालयीत बनेका उनीहरुले कोरी घुमघामका लागि मनसुन याम नै किन रोजे त ? पौडेल भन्छन्, “त्यहाँबाट देखिने हरिया डाँडाकाँडा, वनफूलले ढाकिएका पाटन र छिनछिनमा फेरिइरहने मौसमले लोभ्याउँदोरहेछ।”
पहिलो दिन कोरी पुग्दा मौसम धुम्मिएपछि त्यो रात कोरीमै बिताएको उनले सुनाउनुभयो। हिउँदमा जस्तो छ्याङ्ग हिमाल नखुले पनि रिमझिम वर्षा र बाँदलभित्र लुकामारी खेलिरहेको अन्नपूर्ण र लमजुङ हिमालको दृश्यले रोमाञ्चित बनाएको पौडेलले बताए। “अर्कोदिन मौसम राम्ररी खुल्यो, हिमाल र डाँडापाखाको दृश्यालोकन गर्न पायौँ”, उनले भने, “मनसुनको याममा मुख्य गरी कोरीको आकर्षण बनेको भुइँभरि देखिने रङ्गीचङ्गी फूल र हराभरा देखिने प्रकृति नै हो।” पौडेलले सामाजिक सञ्जाल टिकटकमा कोरीको भिडियो देखेपछि साथीहरु मिलेर घुम्ने योजना बनाएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)