भन्सारका दर सच्याउन मोरङ व्यापार संघको आग्रह
abhiyandaily.com
विराटनगर । मोरङ व्यापार संघले करको दर सच्याउन र अन्तःशुल्क घटाउन अर्थमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत करको दरमा गरिएको परिवर्तनले स्वदेशी उद्योग बन्द हुन थालेको भन्दै संघले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको हो । उद्योगीहरूले सेनिटरी प्याड र एमएस वायर/रडमा भन्सार तथा अन्तःशुल्क घटाउन सरकारसँग माग गरेका छन् । सरकारले चालू वर्षको बजेटमा करको दरमा परिवर्तन गरी सेनिटरी प्याड आयातमा लाग्ने भन्सार महशुल घटाएपछि प्याड उत्पादन गर्दै आएका स्वदेशी उद्योग मर्कामा परेका थिए । भन्सार छूटमा आयात हुने वस्तुसँग प्रतिस्पर्धा गर्न नसकी उद्योग संकटमा पर्ने उद्योगीहरूले बताएका छन् ।
सरकारले एमएस वायर रडको आयातमा प्रतिकिलो ४ रुपैयाँ ५० पैसाका दरले अन्तःशुल्क र १० प्रतिशत भन्सार महशुल लिने गरेको छ । मोरङ व्यापार संघले प्रधानमन्त्री कार्यालयमा पत्राचार गरी जीआई वायरको अर्धप्रशोधित वस्तु आयातमा कर वृद्धि गर्दा वायर उत्पादन र निर्यात ठप्प भएको भन्दै महशुल ५ प्रतिशत कायम गर्न आग्रह गरेको छ । संघले जीआई वायर उद्योगले आयात गर्ने एमएस वायर/रडमा अन्तःशुल्क नलाग्ने पुरानै व्यवस्था कायम गर्न आग्रह गरेको अध्यक्ष नवीन रिजालले जानकारी दिए । भन्सार महशुल ५० प्रतिशत घटाउने र अन्तःशुल्क छूट दिने निर्णय भए जीआई वायर निर्यात भई विदेशी मुद्रा आर्जन गर्न सकिने दाबी उनले गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)