राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन तयारी
gorkhapatraonline.com · Wed Aug 26 04:40:24 GMT 2026

बेनी, भदौ १० गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादनको तयारी गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको सुरुङ, बाँध र विद्युत्गृहसहित भौतिक संरचना निर्माण र उपकरण जडान गरी परीक्षणसमेत सफल भएपछि आयोजनाले परीक्षण उत्पादनको तयारी गरेको हो ।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार विद्युत्गृहमा जडान गरिएका विद्युत् उत्पादन गर्ने २०/२० मेगावाट क्षमताका दुई वटा युनिटमध्ये युनिट एकको मेकानिकल परीक्षण गरी पानी हालेर टर्बाइन गुमाएर उपकरणको इलेक्ट्रिकल परीक्षण पनि सफल भएर विद्युत् उत्पादनका लागि तयारी अवस्थामा राखिको छ । यस्तै युनिट दुईको सोमबारदेखि इलेक्ट्रिकल परीक्षण भइरहेको उहाँले बताउनुभयो । दुई वटै युनिटको परीक्षण सकेर अबको दुई/चार दिनभित्रमा आयोजनाले परीक्षण उत्पादन सुरु गर्ने उहाँको भनाइ छ । १५ दिन परीक्षण उत्पादनको समय रहने र त्यसपछि आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)