स्थानीय सरकार सुशासनमैत्री बन्नुपर्छ
rajdhanidaily.com · Tue Aug 02 23:26:54 GMT 2022
देशका ७ सय ५३ वटा स्थानीय सरकार संघीय शासन प्रणालीलाई सफल बनाउने सबैभन्दा महत्वपूर्ण भूमिकामा रहेका छन् । यति महत्वपूर्ण भूमिकामा रहेका स्थानीय सरकारले सेवाप्रवाह र सुशासनमा गम्भीर ध्यान दिएर जनतालाई सन्तुष्ट बनाउन सक्नुपर्छ । सबै स्थानीय तहमा भर्खरै मात्र निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि आएका छन् । ती जनप्रतिनिधिले सुरुदेखि नै आफ्नो स्थानीय तहलाई सुशासनमैत्री बनाउन सके भने जनताले संघीय शासनको प्रतिफल पनि सहजै पाउनेछन् । संघीय शासन प्रणालीको मूल मर्म भनेकै जनताको घरदैलोमा दिइने प्रत्यक्ष सेवा हो । जनताको घरदैलोमा प्रत्यक्ष सेवा दिने भनेकै स्थानीय तहले हो ।
यदि स्थानीय तहले प्रभावकारी सेवा दिन सकेनन् भने आमजनतामा संघीय शासन प्रणालीप्रति नै वितृष्णा पैदा हुन सक्छ । त्यसैले त्यस्तो अवस्था आउन नदिन पनि स्थानीय तहले जनतालाई केन्द्रबिन्द्ुमा राखेर काम गर्नु अत्यावश्यक छ । महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले स्थानीय तहमा ठूलो परिमाणमा बेरुजु रहेको देखाएको छ । धेरै स्थानीय तहमा आर्थिक पारदर्शीताको अभाव देखिएको छ, जसका कारण ती स्थानीय तह कुशासनको चक्रमा पर्न थालेका छन् । यसरी स्थानीय तहमा कुशासन बढ्न थालेपछि नयाँ व्यवस्थामाथि पनि प्रश्न खडा गरिने वातावरण निर्माण हुन गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)