मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित पाँच जनाविरुद्ध मुद्दा दायर

nepalviews.com · Wed Oct 28 02:51:23 GMT 2026

बुटवल । जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको दाबी गर्दै सभामुख तुलाराम घर्ती र प्रदेश सभा सचिव दुर्लभकुमार पुनसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा फिरादपत्र दायर गरेकी छन्। मङ्गलबार दायर फिरादपत्रमा सभामुख र सचिवका साथै प्रदेश सभा सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, प्रदेशसभा सदस्यद्वय सन्तोष पाण्डे र अजयकुमार झालाई समेत विपक्षी बनाइएको छ। काफ्लेले पार्टीको आधिकारिक निर्णय र अख्तियारीबिना लेटरहेड, छाप तथा पदाधिकारीको नाम प्रयोग गरी तयार पारिएको कीर्ते पत्रका आधारमा आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गरेकी छन्।

मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिने विषयमा संसदीय दलको निर्देशन उल्लङ्घन गरेको आरोपमा काफ्लेमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो। सोही आधारमा प्रदेश सभा सचिवालयले भदौ २४ गते उनको पद रिक्त भएको सूचना जारी गरेको थियो। तर, उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी काफ्लेको पक्षमा अदालतले असोज ६ गते निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। काफ्लेले अदालतसमक्ष विवादित पत्रको आधिकारिकता छानबिन गरी कीर्ते तथा जालसाजीमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न र सो लिखत अमान्य घोषित गर्न माग गरेकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)