मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालीमा क्रिकेटप्रेम

gorkhapatraonline.com · Wed Oct 28 03:14:09 GMT 2026

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार सो प्रतियोगिता उद्घाटन गर्नुभएको हो । उहाँले एनपिएलको सफलताको शुभकामना व्यक्त गर्दै यो भव्य खेलकुद महाकुम्भले छोटो समयमै देशकै प्रमुख खेलकुद उत्सवका रूपमा ख्याति कमाउन सफल भएको बताउनुभएको छ । एनपिएल नेपालको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता हो । छोटो अवधिमै मुलुकको ठुलो खेलकुद प्रतियोगितामा परिणत भएको छ । प्रधानमन्त्री शाहले प्रतियोगिता उद्घाटन गर्नुका साथै लिगमा सामेल हुने सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, आयोजक र नेपाल क्रिकेट सङ्घ (क्यान) लाई शुभकामना दिएर हौसला प्रदान गर्नुभएको छ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोली लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्ग्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुँदै छ । एनपिएलको यो संस्करण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट आधिकारिक मान्यताप्राप्त प्रतियोगिता हो । यसै कारणले पनि यस प्रतियोगिताप्रति अन्तर्राष्ट्रिय समुदायको समेत ध्यान केन्द्रित भएको छ । यस प्रतियोगितामा चर्चित विदेशी खेलाडीको आगमनले नेपाली क्रिकेटको चर्चा चुलिएको छ । अहिले मुलुकभरका किक्रेटप्रेमी र अझ विशेष गरी युवावर्ग बढी उत्साहित छ । प्रतियोगितामा आधुनिक प्रविधिको प्रयोग गरिएको छ । यसले नेपाली क्रिकेटलाई विश्वमाझ चिनाउनुका साथै खेललाई निष्पक्ष बनाउनसमेत सहयोग पुग्ने विश्वास गरिएको छ । यस पटक प्रतियोगिताको पुरस्कार राशिसमेत वृद्धि गरिएको छ । उपाधि विजेता टिमले एक करोड ५० लाख र उपविजेताले ८० लाख रुपियाँ पाउने छन् । यसै गरी तेस्रो हुने टोलीलाई ४० लाख र चौथो हुनेलाई ३० लाख रुपियाँ प्रदान गरिने छ । आउँदो मङ्सिर ५ सम्म सञ्चालन हुने यस प्रतियोगिताले नेपाली घरेलु क्रिकेटको स्तरलाई थप उचाइमा लैजाने अपेक्षा गरिएको छ ।

प्रतियोगिता सुरक्षित बनाउन सुरक्षा निकायले प्रविधि र जनशक्तिको संयोजनसहित विशेष सुरक्षा योजना बनाएर काम गरिरहेको छ । प्रतियोगिताको सुरक्षाका लागि नेपाल प्रहरीले एक हजार १२४ जना जनशक्ति परिचालन गरेको छ । त्यस्तै सशस्त्र प्रहरी बलले तीन सयभन्दा बढी पोसाकधारी सुरक्षाकर्मीसहित झन्डै सोही सङ्ख्यामा सादा पोसाकका प्रहरी परिचालन गरेको छ । अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता, दर्शकको चाप र खेलस्थलको संवेदनशीलतालाई ध्यानमा राखेर निगरानी, प्रवेश जाँच, खेलाडीको आवागमन र आकस्मिक प्रतिकार्यसम्मका व्यवस्था मिलाइएको छ । नेपालमा पछिल्लो समय क्रिकेट खेलप्रतिको आकर्षण अभूतपूर्व रूपमा छ । क्रिकेटबाटै नाम र दाम दुवै कमाउन सक्ने अवस्था बनेको छ । यो प्रतियोगिताले नेपाली क्रिकेटलाई व्यावसायिकतातर्फ लैजान, युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग अनुभव साटासाट गर्ने ठुलो मञ्चसमेत प्रदान गरेको छ । एनपिएलको यो निरन्तरताले नेपाली क्रिकेटमा कर्पोरेट क्षेत्रको लगानी र आमनागरिकको चासोलाई अझ प्रगाढ बनाएको छ । यद्यपि नेपाली क्रिकेटको जगलाई दिगो र बलियो बनाउन अझै धेरै काम गर्न बाँकी छ । नेपाली क्रिकेटको विकासका लागि सबैभन्दा पहिलो र अनिवार्य आवश्यकता भनेको भौतिक पूर्वाधार निर्माण र स्तरोन्नति हो । नेपालसँग प्रतिभावान् खेलाडी र खेलप्रेमी दर्शकको कमी छैन तर अन्तर्राष्ट्रिय मापदण्डका रङ्गशाला र अभ्यास मैदानको अभाव छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)